समाचार

राजापुर साहित्य प्रतिष्ठान बर्दियाको आयोजनामा प्रसिद्ध साहित्यकार कीर्तिशेष प्रकाश राजापुरीको ८५ औँ जन्मजयन्ती मनाइएको छ । यस कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञासभा सदस्य महानन्द ढकालले प्रकाश राजापुरीको साहित्यिक सक्रियताको स्मरण गर्दै राजापुरीको कृतित्व र व्यक्तित्वलाई प्रचारप्रसार गर्नसके आजको पुस्ताले राजापुरीलाई प्रेरणाका रूपमा लिन सक्ने बताए । प्राज्ञ ढकालले बहुप्रतिभाका धनी राजापुरी लेखनले भाषा साहित्यको क्षेत्रमा पुराएको अमूल्य योगदानलाई बिर्सन नसकिने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार खगेन्द्र गिरि ’कोपिला’ले राजापुरको व्याक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्दै राजापुरीमा अङ्ग्रेजी, नेपाली, हिन्दी, ऊर्दू र अबधी भाषाको राम्रो ज्ञान भएको र यी पाँचओटै भाषामा उनका रचनाहरू प्रकाशित भएको बताउनुभयो । कोपिलाले राजापुरी राजापुरको अमुल्य निधि भएकाले राजापुर बजारको मूलचोकमा प्रकाश राजापुरीको शालिक स्थापना गर्न राजापुर साहित्य प्रतिष्ठानले पहल गर्नुपर्ने बताउनुभयो ।
राजापुर साहित्य प्रतिष्ठानका अध्यक्ष जेवी अनुरागीले अध्यक्षताको मन्तव्य राख्दै राजापुरीले राजापुरलाई गजललाई चिनाएको बताउँदै संस्थाले राजापुरीलाई सम्झने गरेको बताउनुभयो । श्याम सरावीको स्वागत मन्तव्य र सन्तोष रेग्मीको सञ्चालनमा आयोजित कार्यक्रममा जीवराज पाण्डेय, बालकृष्ण शर्मा, बद्री ढकाल ’हीरामणि’, सुभास दहित’ सहदेव चौधरी लगायतका स्रस्टाहरूले नेपाली र थारु भाषामा रचना सुनाउनुभयो ।