• २०८१ चैत १२ बुधबार

डा. गोपाल पौड्याल मण्डनेको मुक्तकसंग्रह झरनाको लोकार्पण

अक्षरमार्गले साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको मुक्तकसंग्रह झरनाको पानी हालै एक कार्यक्रम बीच लोकार्पण गरेको छ । पुस्तक लोकार्पण गर्दै वरिष्ठ मुक्तककार मोहन दुवालले गहन भाव र चोटिलो प्रहार गर्न सक्ने खुबीका कारण मुक्तक विधा लोकप्रिय भएको विचार व्यक्त गरे ।त्यस्तै अर्का मुक्तककार सूर्यप्रसाद लाकोजूले नेपाली साहित्यमा मुक्तक विधाको विशिष्ट स्थान भएको उल्लेख गरे ।

त्यस्तै मुक्तककार गोपाल मण्डनेले मुक्तक मन परेकै कारणले आफूले लामो समयदेखि मुक्तक विधामा कलम चलाइरहेको बताए । मुक्तक संग्रहमाथि मुक्तककार रामसुन्दर देउजा र साहित्यकार तुयुकाजी ताम्राकारले टिप्पणी गरेका थिए । नेपाली भाषा र साहित्यमा समर्पित अक्षरमार्गले नेपाली वाङमयका मूर्धन्य विद्वानहरूको सिर्जनाका साथसाथै नेपाली साहित्यमा भर्खर कलम चलाएका प्रतिभाहरूलाई समेत अगाडि ल्याउने, साहित्यमा अगाडि बढाउने काम गर्दै आएको छ ।

काभ्रे जिल्लाको मण्डन देउपुरमा जन्मेका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् । उनको झरनाको पानीभित्र विविध भाव झल्कने एक सय एक मुक्तक सङगृहीत छन् । चोटिला मुक्तक लेख्न सिपालु पौड्यालका मुक्तकहरूमा देशप्रेम, समाजमा व्याप्त विकृति विरुद्ध असन्तोष, प्रेमप्रणयका सन्दर्भ, राजनैतिक बेथिति जस्ता विषय रहेका छन् । सो कार्यक्रम अक्षरमार्ग सिर्जना समूहका संयोजक कवि ध्रुवकृष्ण ताम्राकारको सभापतित्वमा सम्पन्न भएको थियो ।