मेरो जीवन
मदेखि टाढा भयो
त्यसैले यो वरिपरिको वास्तविकता
फूल होइन, फूलको काँडा भयो ।
कहिलेकाहीँ घोच्छ यसले
कहिलेकाहीँ पोल्छ यसले
तर एउटा कुरा सोच्छ मनले
एक दिन आउछ त्यो जीवन
जसलाई अहिले
रित्तो क्षणमा खोज्छ मनले ।
त्यही ‘म’ देखि
अचानक टाढिएको मेरो जीवन
अर्थात् तिमी
मेरो जीवन, मेरो माया, मेरो सपना
आँखाबाट आँसु त के
कुनै उदासी पनि नबगाऊ
म चाहन्छु
मेरा ओठले चुमेका परेलाहरू
कहिल्यै नभिजून्, मुस्कुुराइरहून् ।
तिमीलाई जुन समय एक्लो लाग्छ
एकान्त दुख्न थाल्छ
त्यही समयमा सम्झिनु
हाम्रा बितेका पलहरू
जब बाफिला सासहरूसगै
हाम्रा मुटु एकाकार हुन्थे,
हामी बिर्सिन्थ्यौ
मुटु कसको र सास कसको
हुन सक्छ
त्यो सम्झनाले तिमीलाई
विश्राम देओस्,
लाली मिसिएको लाजको
आनन्द देओस् ।
तर मेरी प्रिय,
तिमी कहिल्यै उदास नहुनू,
त्यो उदासी मेरो मनमा बादल बनेर बस्छ
स्वप्निल उज्यालोमा रात बनेर बस्छ ।
म यहाँ बाचेको छु,
तिम्रा अधरका लालीले दिएको
तिर्खाएका ओठहरूको शून्यतालाई
विपनाको मायाले मेट्दै ।
सपना र सम्झनामा
हर घडी भेट्दै
म यहाँ बाँचेकै छु
मुटुमा काँडा बिझे पनि
अधरले त हाँसेकै छु ।
साभार: मेघा (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)