समाचार

तिमी जानु
मात्र तिमी जानु कहाँ हो र ?
फुलेपछि फूल झर्नुजस्तो सामान्य
बिहान उदाउने सूर्य साँझले छेलेजस्तो नियमित
पानी ओरालो हिँडिदिएर पहाड छोडेजस्तो प्राकृतिक
डिम्बा फुटाएर बचेरा उडेजस्तो तरङ्गित
त्यस्तो केही पनि त होइन तिमी जानु ।
उल्टो
ढुकढुकीको आवाज बढेर मुटु हल्लाइदिनु
जाँगर यसैयसै हराउनु
रहर मर्नु
सहनु, अनि सहँदैसहँदै जानुु
नमुस्कुराउनु र चुपचाप रहनु
जस्तो कि कुनै नाबालक आमाविहीन हुनु,
जस्तो कि संवेदनाको भारले थिचेर
छाती बडेमानको ढुङ्गो हुनु
र आँखाले भित्रभित्रै भूमिगत बाटो खनेर आँसु बगाउनु ।
तिमी जानु परिभाषाहीन चोटले धेरै दुख्नु,
र नदुखेजस्तो भइरहनु
मायालु हात छुटेपछि
भीडभित्र अनाथ आवारा हुनु
तर पूर्ण भएजस्तो रित्तो भएर हिँडिरहनु,
वियोगको भुमरीमाझ
थरथर थरथर काँप्दै दियो भएर उभिनु,
आवेगलाई छातीको पर्खालले छोपेर
मुस्कुराइरहेको अभिनय गर्नु
कस्तो अप्ठ्यारो छ तिमी जानु,
हृदय खोलेर भन्न पनि नसक्नु
कि तिमी नजानू ।
०
…………………………………..
(जङ्गल स्थापित साहित्यकार हुन् ।)
[email protected]