• २०८१ कातिर्क २५ आइतबार

लिउडो टिप्दै गर्दा

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

लिउडो टिप्दै गर्दा
असंख्य छरिएका स्वर्णिम सपनाहरु
एक – एक तानो गरि टिपेर
मुठो पारी बेचिन्छन् ।

प्रत्येक तानामा सन्तानको
सुखद भविष्य हेर्दै
प्रत्येक मुठामा
समृद्धिको कल्पना संगाल्दै
जोखिम उठाइएको हुन्छ ।

जुकाले रगत चुसेको चिन्ता छैन
लामखुट्टेले मलेरिया, डेङ्गु सारे सार्ला
सर्पले डसे डस्ला
लिउडो टिप्नु छ
स्वर्णिम सपना साकार पार्नु छ ।

त्यस्तै गिट्टी कुटदाको
हरेको गिट्टीमा
अनुहार बसेको हुन्छ
छानेको बालुवाको कण कणमा
परिश्रमको हाजिरीको हस्ताक्षर हुन्छ ।

त्यस्तै
काफल टिप्ने होस वा मकै बेच्ने
भारी बोक्ने हो वा मजदुर
एकै प्रकृति हो
जीवन निर्वाह गर्न र
सन्तान हुर्काउन
रातदिन पसिना बगाउँछन् ।

श्रम गर्दागर्दै मानवीय भाव बिर्सेर
यन्त्रवत हुन जान्छ ।

लिउडो टिप्दै गर्दा
सुन्दर सपना सजायो
कल्पनाको महल बनायो
घरजम बसायो
खोलो तर्दै गर्दा चिप्लियो
छताछुल्ल भयो
बगायो सुन्दर सपना
भत्कायो कल्पनाको महल ।

जुकाले रगत चुसेको देखियो
लामखुट्टेले टोकेको ठाउँ चिलस्यो
अघि देखिएको सर्प
फ़ेरि देखियो
घर पुग्दा थला पर्‍यो ।


कैलासकुमार पाण्डेय
परशुराम-३, थपला, डडेल्धुरा