• २०८१ माघ ११ शुक्रबार

फूलको पाखोमा ट्रयाक्टरका भमराहरू

बाँस्कोटा धनञ्जय

बाँस्कोटा धनञ्जय

हिउँद ऋतुलाई बिदाइगर्दै वसन्तको आगमनलाई आव्हानगर्ने सिलसिला सुरू भइसकेको रहेछ अष्ट्रेलियामा । हिउँदको लामो जाडो थेगेर वसन्तको ऋतु आउन लाग्दा उनीहरुमा रोमाञ्चकता हुँदो रहेछ । त्यही सिलसिलामा हामी‘टेसेलर टुलिप फेस्टिभल’ मेलवर्नको पूर्वपट्टि रहेको माउण्ट डान्डेनङ्ख नजिक एउटा विशाल फाँटमा पुग्यौं । त्यो ९ अक्टोबर, २०२२ अर्थात् असोज २३ गतेको दिन थियो ।

हाम्रो टोली ग्लेनरोयबाट निक्यौं । छोराछोरीले फराकिला राजमार्गहुँदै जंगलको बाटो जस्तो देखिने रूखहरूको सहरतिर लाग्यौं । रूखका घना पाटा हुँदै हुइकियौं । जंगल र थुम्का थुम्की हुँदै हुइकियौं । रुख र जीवनको सामिप्यता गज्जपको थियो । त्यस्ता जंगलभित्र मान्छेका आलिशान घरहरू देखिन्थे । विशाल बंगलाहरु थिए । अरवपतिहरु बस्दा रहेछन् त्यो क्षेत्रमा । तिनका घर विशाल क्षेत्रमा फैलिएका छन् । घरभित्रै स्विमिङ्ख पुल, बास्केटबल कोर्ट, टेनिस कोर्ट देखिन्थे । सभ्रान्तहरू ठूला सहरमा बस्न भन्दा यस्ता प्रकृतिमा रमाएर बस्न आनन्दित हुँदा रहेछन् । सभ्रान्त भन्ने बित्तिकै ठूला सहरमा मात्रै बस्ने समाजमा हुर्केको म जस्ताहरूलाई निकै अनौठो थियो । जंगलभित्र सभ्रान्तहरूको बस्तीले जीवन र प्रकृतिको अनुपम मेल देखिन्थ्यो त्यहाँ ।

हामी टुलिप फेस्टिभल (टुलिप पर्व)का लागि टुलिप गार्डेन पुग्यौं । बाहिर विशाल पार्किङ्ख स्थल थियो । हजारौं गाडीहरू लाममा थिए । हामी पनि गाडी पार्किङ्ख गरेर बाहिर निस्क्यौं । नातिलाई ट्राममा हाल्यौं । श्रीमती जानुका, छोराहरु शोभित र कुशल, बुहारी सगुन, छोरी रञ्जु, ज्वाईं राजु, दुलही शोभा र नाति रिजङ्ख सहितको हाम्रो टोली प्रवेश गर्दै थियो ।अनलाइनमा टिकट काटेर गएका थियौं हामी । अनि अनलाइनमा टिकट बन्द भएको भनेर अरु आफन्तलाई लग्न पाइएन र उहाँहरु छुटनु भयो ।

विशाल क्षेत्रमा फैलिएको टुलिप गार्डेन भित्र छिर्यौ । अनलाइन टिकट जाँचगर्ने कर्मचारीबाट त्यस क्षेत्रको नक्सा पायौं ।केही भिरालो पाटाको उकालोको टापुमा घुम्ने खेलथियो । त्यो डाँडो थियो । त्यहाँबाट निकै पर क्षितिजमा वादलका लप्का डाँडामा बास बसे जस्तो देखिन्थ्यो । बादलका बहुरुपी आयामहरुले त्यहाँ उपस्थित बहुरुपी आयाम, बहुरुपी राष्टियता, र बहुरुपी आकृतिहरुलाई पैतिनिधित्व गरिरहेको थियो । त्यहाँबाट टुलिप बगैचा (पारस फूलको बगैंचा) को विशाल क्षेत्र देखिन्थ्यो । लामा लामा प्लट बनाएर सुन्दर बगैंचा थिए टुलिप फूलका । ड्याङ्खका अनेकौं आकारमा फूल फुलाइएको थियो । कुनै लामा ड्याङ्ख थिए, कुनै गोलाकारका थिए । ती बहुरङ्गी थिए । त्यति धेरै मान्छे हुँदा पनि कसैले ती फूललाई छुन पनि छोएनन्, टिप्न त धेरै परको कुरा थियो । सुन्दर वस्तु देख्नका लागि रहेछ । अनुभूत गर्नका लागि रहेछ । परैबाट पढ्नका लागि रहेछ । त्यही भएर होला, सबै फूलका समिपमा गएर तिनलाई आफूसंगै क्यामेरामा कैद गर्नमा तल्लीन थिए । ती ब्यस्त थिए । लाग्थ्यो, तिनलाई फोटा खिच्नबाहेक अरु कुनै काम गर्न फुर्सद थिएन ।

हजारौं मान्छेका मुस्कानहरू थिए त्यहाँ । खुसीहरू थिए । ती खुसीहरू तिनका प्रत्यक्ष नयनहरुमा मात्र सीमित थिएनन्, ती क्यामेराका फोटामा कैद भइरहेका थिए । प्राय सबैका हातमा मोवायल थिए, र प्राय सबै फोटो खिच्नमा आतुर थिए । मानिसहरु फोटा, टिकटक र स्लो मोसन कैद गर्नमा ब्यस्त थिए । यति धेरै मानिसलाई मन बहलाउने, खुसीदिने त्यो बगैंचा ‘इडनको बगैंचा’ जस्तै देखिन्थ्यो । यति धेरै मान्छेलाई आनन्द र खुसीदिने एउटै ठाउँ थियो त्यो । आज हर ठाउँहरु मान्छेलाई पीडा र दुख दिन तल्लिन छन्, जहाँ गएनि सुख छैन । काममा दुख, घरमा दुख, देशमा दुख, परदेशमा दुख । अनि आफ्नै शरीरमा दुख । मनमा दुख, आफन्तमा दुख, साथीभाइमा दुख । खानमा दुख, लाउनमा दुख, हिंडनमा दुख । मैले देखें, यी सारा मान्छेले जीवनका ती तिक्ततालाई केही क्षण भएपनि बिर्षएका छन् । केही क्षण भएपनि आफैलाई बिर्षिनु पनि सार्थक जीवनको बाटो रहेछ । आफूलाई सधैं सम्झिने प्रयास गर्नु भनेको आफैलाई तातो फलामको भारी बोकाउनु रहेछ । मैले पनि तातो फलाको भारी त्यहीं गएर बिसाएँ ।

तर त्यहाँ मान्छेका आनन्दहरुको आयाम देख्न सककिन्थ्यो । तिनका अनुहारमा प्रकट भएका आनन्दले सुन्दर वसन्त निम्त्याइरहेको थियो । मैले सिद्धिचरण श्रेष्ठको ‘वसन्त’ शिर्षको कविता सम्झे । त्यहाँ खानाको उत्पत्ति अनुसारका क्याफे थिए । खानाको राष्ट्रियता अनुसारका क्याफे थिए । अनि मानिसहरू तिनको पहिचान देखाइरहेका थिए खानाको छनोट अनुसार । ग्रीक खाना, डच खाना, इटालियन खाना, चाइनिज खाना आदि । हाम्रानानीहरुले पनि ‘शिव इन्डियन’ क्याफेबाट समसाकिनेर ल्याए, अनि मिठो गरी खाए । ‘नेपाल गयो कपलासंगै’ भने जस्तो भयो त्यहाँ । हाम्रा नानीहरुले समसा नै रोजे ।

सबैभन्दा गज्जवको कुरा चाहिं त्यहाँ ट्रयाक्टर चढ्नेहरूको भीड थियो । त्यहाँ दुई वटा ट्रयाक्टर निरन्तर मान्छे चढाउँदै, अनि त्यही परिसरमा घुमाउँदै गर्न ब्यस्त थिए । ५ डलर तिरेर करीव ३०० मीटरको दूरी ट्रयाक्टर चढन मरिहत्ते गर्नेहरुको भीड उदेक लाग्दो थियो । लाइन थिए मानिसहरु । पालो पर्खिएर बसेका थिए । मानौं, तिनको यो यात्रा निकै गौरवपूर्ण छ । चन्द्रमाको यात्रामा निस्किएका यात्रु जस्तै तिनको मुस्कानमा रहस्य थियो । अनि अरुलाई एक फन्का घुमाएर त्यहाँ ल्याएपछि मात्रै आफ्नो पालो आउँथ्यो ।

त्यहाँ ट्रयाक्टरमा दुर्लव साधन रहेछ । जग्गा जोत्न पर पर कृषिफारममा मात्र प्रयोग हुन्छन् र ट्रयाक्टरलाई माल बोकाइन्न । ती राजमार्गमा कुदेको देखिन्न । ती न त बालुवा बोक्छन, न त गिटी र ढुङ्गा । ती न त बसाईं ओसार्छन्, न त बोरा । त्यही भएर तिनीहरू धेरैले ट्रयाक्टर देखेका पनि हुँदा रहेनछन् । ट्रयाक्टर नदेखेकाहरुको ठाउँ ! त्यही भएर त्यस दिन हजारौं मान्छे बोके ती दुई वटा ट्रयाक्टरले । कति कमाए होलान ?

तर पनि मानिसहरु झुम्मिएका झुम्मिएकै थिए । त्यो फूलको पाखोमा देखिएको त्यो भीड भमराको गोलो थियो । ती मरिहत्ते गरिरहेका थिए फूललाई आफूमा कैद गर्न । चुम्न । श्पर्स गर्न र मनमा बोक्न क्मेराका लेन्सहरु खुल्ला पार्न । लाग्थ्यो, ती फूलको पाखोमा ट्रयाक्टर चढ्न मरिहत्ते गर्ने भमराहरु थिए । गरा र ड्याङ्खमा फुलेका टुलिप फूलहरूले मनमा उमंग छायो । सबैका मुहारमा खुसी थियो, मानौं, हताका क्यामेरा र मोवायल फोटो खिच्नका लागि मात्र बनेका हुन् । फूलले दिने खुसीका आयाम पढियो । सम्झे, अन्धा मान्छेले ढुंगालाई पनि लात्ती हान्छ, फूललाई पनि । फूललाई पनि लात्ती हान्नेहरूको भीडबाट म केही समय त्यहाँ पुगेको थिएँ ।

त्यति धेरै पैसा लिए पछि दर्शकहरुलाई केही सुविधा त हुनु पर्ने हो, तर थिएन । सिर्फ त्यहाँ घुम्न र फोटा खिच्न पाइने । न त कुनै शो थियो न त कुनै कन्सर्ट । न त कुनै नाटक वाकुनै मनोरञ्जनका साधन, न कुनै खेल । न त कुनै ग्यालेरी, न त कुनै पीङ्ख आदि । हेर्ने कुरा फूलबाहेक केही थिएन । पर डाँडा र जंगल अनि जंगलभित्रका आलिशान पातला बस्तीहरू देखिन्थे । २३ डलर प्रति व्यक्ति तिरेर त्यो पनि अनलाईनमा मात्रै टिकट काट्न पाइने बनाइएको रहेछ । अनि एक दिन अगवै टिकट ‘क्लोज’ भनेर टिकट किन्न पनि नपाउनु अचम्म लाग्यो । त्यत्रो पैसा तिरेर त्यो ठूलो पाखोमा मान्छेले हेर्नु पर्ने जम्मा फैलिएको पाखो थियो । त्यो पनि मान्छेले आउँछौं भन्दा आउन नपाउने किन बनाइयो भन्ने प्रश्न रह्यो मनमा । एउटा पाखो हेर्न आउन नपाउनु झनै अचम्मको कुरा थियो । पाखामा त लाखौं मान्छे अट्ने ठाउँ थियो त ! फेरि किन बञ्चित ? व्यावस्थापनको कारण भनिएपनि त्यस महोत्सवलाई गहकिलो बनाउनका लागि आयोजकले त्यसो गरेको जस्तो देखिन्थ्यो ।

हेर्न  बाहेक अरू केही पनि नपाइने हुँदा पनि मान्छेको भीड अकल्पनीय लाग्यो । आँखाको रमिता जीवनको ठूलो पाटो रहेछ । हामी आँखाको लागि हिंड्दा रहेछौं । आँखाको लागि जिउँदा रहेछौं । नत्र मान्छेले झोंक चल्दा ‘तँलाई देखाइदिन्छु’ किन भन्थे ? देखाउनकै लागि रहेछ जीवन ! देख्नकै लागि रहेछ जीवन ।

त्यो भीडको हुनुको पछाडि तीन वटा कारण रहेछन् । एउटा, त्यो टुलिप भनेको फूल हो जसले वसन्त ऋतुको स्वागत गर्छ । सुन्दर ऋतुको स्वागत रहेछ त्यो । अर्को कारण रहेछ, पार्किङ्ख । मान्छे कै हाराहारी संख्यामा कार हुने हुनाले पार्किङ्ख समस्या रहेछ । आँखाले नभ्याउने डाँडासम्म गाडिको पार्किंङ्ख देखिन्थ्यो । सेताम्मे डाँडो देख्दा लाग्थ्यो हिउँले सेताम्मे भएको कुनै हिमालको नजिकै छौं हामी । अर्को कारण भनेको टुलिप को अर्थ रहेछ, र त्यो हो- दार्शनिकको ढुंगो हो । त्यो फूलबारीमा पुगेपछि हरेक मान्छे आफ्ना मनलाई आनन्दीत गर्न पाउँछन् । आफूलाई प्रकृतिसंग साक्षातकार गराउँछन् । आफैलाई भुलेर पर क्षितिजसम्म सोच्न थाल्छन् । आफै माथि दिग्बिजय हासिल गर्छन । म र मेरो बाट, म र मेरो को हतकडीबाट मूक्त हुन्छन् । त्यही आनन्दको बाटो  नै दार्शनिक जीवनको बाटो हो । त्यही बिम्ब छ भन्ने लाग्यो त्यहाँको माहौल हेर्दा ।

अन्त्यमा, भूईंमा राखिएका लामा जुत्तामा खुट्टा हालेर फोटो खिचायौं । त्यो एउटा सङ्केत थियो, मानिस यत्रो कहिले होला ? मानिसको खुट्टा यत्रा कहिले होलान् ? मान्छेको ‘अहम ठूलो हुने’ एउटा दरिद्र मानसिकता पनि पढियो । कति ठूलो हुन खोज्या ? देवकोटाको निबन्ध ‘के नेपाल सानो छ ?’ सम्झिएँ । अनि शान्त भएँ । बाहिर कतै नास्ता गर्ने योजना बनाएर हामी उक्त परिसरबाट बाहिर निस्क्यौं ।


बाँस्कोटा धनञ्जय, दमक, झापा


सरकार

यो मेरो मन

उपहार