नेपाली साहित्य
काठमाडौँ ।
क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल (आस्लुन)ले किशोरकवि अनुप उप्रेतीको ‘प्रज्ञा’ महाकाव्य लोकार्पण गरेको छ ।छन्दसारथी महाकाव्यकार रमेश खकुरेलको प्रमुख आतिथ्य, विशिष्ट अतिथिहरू कवि तथा समालोचक प्रा. डा. देवी नेपाल, कवि प्रभा भट्टराई र स्रष्टाका पिता नवराज उप्रेतीले महाकाव्यको लोकार्पण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रमेश खकुरेलले आफ्नो मन्तव्य राख्दै जम्मा १ वर्षको किशोरले महाकाव्यजस्तो विराट काव्यविधामा हात हाल्नु, शास्त्रीय छन्दमा कविता र कथालाई उन्न थाल्नु र अत्यन्त सफलताका साथ समापन गरेर प्रकाशनसमेत गर्नु अद्भुत कार्य हो भनी आश्चर्य प्रकट गरेका थिए । त्यस्तै विशिष्ट अतिथि प्रा. डा. देवी नेपालले विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययनरत किशोर प्रतिभा अनुप आफ्नो सम्पर्कमा आएदेखि नै उनको कविप्रतिभा, सिर्जनात्मक क्षमता, चिन्तनको गहिराइ, नम्रता, शिष्टता र सङ्घर्षशील चरित्रबाट आफू प्रभावित भएको बताए ।
साथै उनले आजसम्मको नेपाली महाकाव्यको इतिहासमा १८ वर्षकै उमेरमा लेखन कार्य सम्पन्न गरेर १९ वर्षमा प्रवेश गर्दै गर्दा प्रकाशन भएको यो नै पहिलो महाकाव्य र अनुप उप्रेती नेपालका कान्छा महाकाव्यकार हुन सक्ने दाबी गर्दै आकारमा थोरै सानो जस्तो लागे पनि कथावस्तुको व्यापकता, चरित्र र परिवेशको उदात्तता, कवित्वको प्रवाह, छन्दविधानमा सचेतता र नौ सर्गको संरचनाले गर्दा यसलाई महाकाव्यका रूपमा ग्रहण गर्न सकिने विचार व्यक्त गरे।
कवि प्रभा भट्टराईले कृतिको समीक्षा गर्दै महाकाव्यकार उमेरले साना भए पनि ज्ञानवृद्धका रूपमा महाकाव्यमा देखापरेको कुरामा जोड दिए । उनले नारीको चरित्रलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेर खण्डहर देशलाई माथि उठाउन नारी नेतृत्वले खेलेको भूमिकाका माध्यमबाट वर्तमानलाई विशेष सन्देश दिएको बताए । त्यस्तै डा. रमेश शुभेच्छुले लोककथा जस्तो लाग्ने तर काल्पनिक कथालाई उच्च कवित्वमा उनेर प्रस्तुत गरिएको हुनाले यो सफल महाकाव्य भएको बताए ।
काव्यस्रष्टा अनुप उप्रेतीको अध्यक्षता र किशोरकवि रविना कँडेलको कवितात्मक सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टाले मातापिता र गुरुवर्गलाई धन्यवाद दिँदै आफ्नो काव्ययात्रालाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा युनिग्लोब कलेजका गुरुहरू नेत्रबहादुर गुरुङ, डा. जीवन जीवन्त र यादव भण्डारीले स्रष्टालाई शुभकामना दिएका थिए । कविहरू दिनेश पाण्डे र सुशील आचार्यले महाकाव्यांश वाचन गरेका थिए ।
