• २०८३ कार्तिक २, आईतवार

कमला पराजुलीको ‘ॐ शान्ति’ कवितासङ्ग्रह विमोचन

विराटचोक ।

कमला पराजुलीद्वारा लिखित कविता सङ्ग्रह ‘ॐ शान्ति’ आइतबार मोरङको विराटचोकस्थित ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रमा विमोचन गरिएको छ । ब्रह्माकुमारी कविता पोखरेलको अध्यक्षता तथा साहित्यकार छवि वैरागी घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ७५ पृष्ठको कविता सङ्ग्रह लोकार्पण गरिएको हो। ७२ वर्षको उमेरमा पराजुलीले आफ्ना जीवनानुभव, आध्यात्मिक चिन्तन र अनुभूतिलाई कवितामार्फत अभिव्यक्त गर्दै कृति तयार पारेकी हुन्। विभिन्न कार्यक्रम तथा ध्यान केन्द्रमा कविता सुनाउँदै आएकी उनले फुटकर रूपमा लेखिएका रचनालाई सङ्कलन गरेर पुस्तक प्रकाशन गरेकी हुन् ।

कार्यक्रममा कोसी साहित्य कला परिषद्का अध्यक्ष केशु विरहीले ‘ॐ शान्ति’लाई ज्ञान बाँड्ने पुण्य कार्यको संज्ञा दिँदै कृतिले सुखको स्रोत मानिसभित्रै रहेको सन्देश दिएको बताए। उनले कृतिले नयाँ स्रष्टालाई साहित्यिक यात्रामा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरे । सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपानेले कृतिले शान्तिको खोजीलाई कवितात्मक रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै आगामी संस्करणमा भाषिक परिष्कार गर्न सुझाव दिए। बेलबारी कला साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले बढ्दो मानसिक अशान्ति र द्वन्द्व न्यूनीकरणका लागि आध्यात्मिक चिन्तन आवश्यक रहेको बताउँदै पराजुलीका कवितामा आध्यात्मिक गहिराइ रहेको धारणा राखे । कृतिका लेखक पराजुलीले केही वर्षअघिदेखि कविता लेख्न थालेको बताउँदै भौतिकभन्दा आध्यात्मिक पक्षमा बढी ऊर्जा र शक्ति अनुभूति हुने गरेको सुनाइन्। ध्यान केन्द्र तथा विभिन्न कार्यक्रममा कविता सुनाउँदा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाएपछि रचनालाई सङ्कलन गरेर पुस्तकका रूपमा प्रकाशन गरेको उनले बताइन् ।

प्रमुख अतिथि छवि वैरागी घिमिरेले कविता साधनाबाट जन्मिने कोमल सिर्जना भएको उल्लेख गर्दै ब्रह्माकुमारी राजयोगको आध्यात्मिक अभ्यास र निरन्तर साधनाको प्रतिफलका रूपमा ‘ॐ शान्ति’ आएको बताए। कार्यक्रममा स्थानीय पत्रकार खेमचन्द्र अधिकारी, कृष्णचन्द्र अधिकारी तथा विभिन्न साहित्यिक एवं सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन कोसी साहित्य कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ले गरेका थिए।