• २०८३ भाद्र २९, सोमबार

तिलोत्तमा साहित्य सङ्गममा बुद्धकालिन ‘देवदह’ कृतिमाथी परिचर्चा

तिलोत्तमा, रूपन्देही ।

नेपाली साहित्यका मूर्धन्य साहित्यकारहरु मोतीराम भट्ट, गुरुप्रसाद मैनालि र विश्वेश्वरप्रसाद कोईरालाको जन्म जयन्तीको अवसर पारेर तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको २४औँ शृङ्खला वरिष्ठ साहित्यकार त्रयको भाषिक योगदानमाथि चर्चा तथा डा. कृष्णप्रसाद न्यौपानेद्वारा लिखित अनुसन्धान मूलक कृति बुद्धकालिन देवदह माथि परिचर्चा कार्यक्रम शनिबार सहिद गङ्गालाल पुस्तकालय, तिलोत्तमा–१, ड्राइभरटोलमा भव्यताका साथ सम्पन्न भएको छ। “तिलोत्तमा प्रतिष्ठानको पहिचानः स्थानीय भाषा, कला तथा संस्कृतिको उत्थान“ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. मुरारि पराजुलीले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार वनमाली निराकारले विश्वेश्वरप्रसाद कोईरालाको कथा प्रवृत्ति, मनोविज्ञान र मानवता केन्द्रित कथा आचरणका बारेमा चर्चा गर्दै उनको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभयो। वरिष्ठ गजकार रमेश समर्थनले युवाकवि मोतिराम भट्टको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उनले नेपाली साहित्यका विविध आयामका साथै प्रेस र पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानबारे विस्तृत चर्चा गर्नुभयो। त्यसैगरी अध्यापक हरि देवकोटाले कथाकार गुरुप्रसाद मैनालीको कथा प्रवृति र बिषय संसार का बारेमा प्रकाश पार्दै उहाँको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्नु भयो। नेपाली साहित्यका मूर्धन्य साहित्यकारहरू गुरुप्रसाद मैनाली विपी कोईराला र मोतीराम भट्ट तीन जनाको जन्म जयन्ती भदौको चौथो् हप्तामा पर्दछ।तसर्थ पनि यो सप्ताह नेपाली साहित्य प्रेमीका लागी उत्सवमय सप्ताह रहन्छ ।

कार्यक्रममा डा. हरिप्रसाद भण्डारी, लक्ष्मण ज्ञवाली, यज्ञलाल सुवेदी, उद्धव देवकोटा, यज्ञ प्रसाद न्यौपाने, डि आर न्यौपाने ’सूर्य’, श्रीराम नेपाली, हरि देवकोटा, गणेश न्यौपाने लगायतका साहित्यिक व्यक्तित्वहरूले विविध विधाका आ–आफ्ना मौलिक रचना वाचन गर्नुभयो । वरिष्ठ कवि तथा छन्द अभियन्ता कविराज पौडेलले वाचित रचनाहरूको समीक्षा गर्दै सहभागीहरूलाई रचना दीर्घकालीन बनाउन साधना र यस किसिमको साहित्यिक सत्सङ्गको आवश्यकता रहेको कुरा ओैल्याउनु भयो। उहाँले साहित्य सङ्गमको निरन्तरताले साहित्यकारका सिर्जनामा निखार आउने कुरामा आफू विश्वस्त रहेको जनाउनु भयो ।

कार्यक्रममा ’बुद्धकालीन देवदह’ नामक अनुसन्धान मुलक कृतिको रचना गर्भ र बिषय संसारका बारेमा कृतिकार डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो। देवदह कोलिय राज्यको राजधानी महामानव गौतम बुद्धसंग सम्बन्धित हुनुका साथै यसको ऐतिहासिक एवम् धार्मिक महत्वलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन यो कृतिको रचना गरिएको र सो विषयमानै विद्यावारिधीको सोध र अनुसन्धान गरेको जानकारी गराउनु भयो । वरिष्ठ साहित्यकार डा. मुरारी पराजुलीले डा. कृष्णप्रसाद न्यौपानेद्वारा लिखित अनुसन्धान मुलक कृतिको समीक्षा गर्दै यो कृति बुद्ध नेपालमै जन्मिएका हुन भन्ने कुराको गर्विलो प्रमाण राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्च सामु प्रस्तुत गर्न र बुद्धमाथीको वैदेशिक हस्तक्षेप रोक्न सफल रहेको कुरा बताउनुभयो। साथै कृति सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमको सञ्चालन कवि उद्धव देवकोटाले गर्नुभएको थियो र उहाँले साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिबार दिउँसो २ बजेदेखि हुने जानकारी गराउँदै कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठान नगर भित्रको स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा निरन्तर क्रियाशील रहँदै आएको एक मात्र संस्था हो ।