चौतारीमा ढाकर बिसाएर
सुर्ती धुवाँसंगै दुःख उडाउँछ बटुवा
चट्टानलाई स्पर्श गर्छ
बिलौना गर्छ खकनसँग
माटोसँग भोक साट्छ
उसका आँखा भरी आकृती घुम्छ भूगोलको
ऊ सपना बेच्छ इतिहासको
घाम जून बोकेर हिड्छ
रगतले कोरिएका कुलेसाको राजमार्गमा
तै पनि उसका सपना मरेका छैनन् गर्भमै
जसरी तुहिन्छन् वसन्त अगाबै
ती श्रीखन्ड र चापका पातहरू
ऊ कुवा ठान्छ
आफ्नै शरीरको पसिनालाई
ऊ पिल्लर सम्झन्छ आफ्नै तिघ्रालाई
चौतारीको पिढीलाई शिलागृह सम्झन्छ
भोका रातहरूलाइ याद ठान्दछ
औँलाहरूलाई क्यालेन्डर सम्झन्छ
जूनघाम हेरि सयम बताउछ एक यायावर बटुवा
जब साँझले अध्यारो लौरी टेक्छ
अनि ऊ छिर्छ
फाटेका कुर्कुचा घिसार्दै
चिहान घारीको शिविर तिर
बूढो बैँस बिसाउन
भेट्छ सहिदका चिहान लेख
भेट्छ मुकुलित गुराँसका झाङहरू
भेट्छ सयलता पिरहेका मृग शावकका बथान
भेट्छ सुकुम्बासी तलिग्राम
अनि हाँस्छ
बन्दकी हाँसो
ऊ दुःख साट्छ विदिर्ण भूगोलसँग
प्रेम गर्छ माटोसंग
माटोसंग नाता छ उसको जोडिएको
हुचिल बास्ने पाखा पखेरा उसका डेरा हून्
ऊ भेट्छ पैंयूका डालीमा भोका चराहरू
इतिहास घोकिरहेका
ऊ मृत्युको फेहरिस्तमा बुई चढ्छ
त्यसैले उ खोजी रहेछ जिजीबिषा !
पिठ्युँमा बोक्छ देश
मानचित्रको विखण्डित धर्साभित्र
टेक्छ कलिलो रगतले पोतिएको धरातल
भेट्छ पाइलै पिच्छे सहिदका पदचिन्ह
आस्था राख्दैन ऊ
नपुंसक पत्थरको भगवानसंग
किन कि त्यही भगवानको पाउमा
भोकको भिक्षा मागिरहेको भेट्छ
मातृत्व गुमाएका शिशु
उसलाई मनै पर्दैन
निरंकुश चराहरूको सोरगुल
उसलाई मनै पर्दैन टुहुरा लेकबेसीले कात्रो ओडेको
धुमिल आकाशको भु्रणबाट जब पोखिन्छ
लङ्गडो भिरको अस्तुमा बिधवा घाम
सेतै फुलेका टांकिका डालीमा
अनि ब्युझन्छ दारुण युग
लगाम लगाएर स्वातन्त्रताको आवाजमा
त्यो पनि उसलाई मनै पर्दैन
उसलाई बास बस्न निषेध गरिएको छ
त्यो क्षिप्त बस्तीमा !
त्यो क्षिप्त बस्तीमा कोपिलाहरूको लास भेट्छ
क्रान्ति ओकलेका मुक्तिका स्वर
गुञ्जदैन उसका कानका प्वालमा
ऊ निद्रामा चिच्याउछ आमा बचाऊ माटो बचाऊ
यो धर्तीको चिसो छातीमा टेकेर दौडने युगले
उसको वेदना सुन्दैन
त्यसैले ऊ नीरवरतामा सौम्य बन्छ
मलामी हिड्ने नागबेली बाटा उसका आस्था हून्
कहिले पिरामिडमा निदाउँछ
कहिले पाखा पर्बतका बित्ताहरूसंग लुकामारी खेल्छ
कहिले ढुङ्गामा बुट्टा भर्छ देशको
त्यसैले बटुवा बटुवा जस्तो लाग्छ
यी पाखा पखेरा उकाली ओरालीलाई पनि !
धर्तिलाई ओछ्यान ठान्छ
आकाशलाई छानो ठान्छ
उसको जून चुहिने धुरी छैन
ऊ फालिएको हो कुक्षि रत्नमा
त्यसैले यो भौमिकता मन पर्छ उसलाई
बादलका काला धब्बाभित्र
क्रान्तिले छोडेका मुक्तिका चेपारा मार्गमा
चाहँदैन ऊ मुर्दाहरूको चीत्कार सुन्न
चाहँदैन ऊ अँध्यारो खोपीमा देश लुकाउन
त्यसैले ऊ स्वाधीनता बोकेर हिँडिरहेछ
एक यायावर मुक्तिको मार्गमा !
छवि किरण ओली
बिर्तामोड, नगरपालिका वार्ड नं ३ सैनिकमोड, झापा, नेपाल