• २०८१ पौष २९ सोमबार

ठाकुर बेलवासेलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत

२४, काठमाडौँ

साढे दुई दशकदेखि पत्रकारिता गर्दै आएका ठाकुर बेलवासेलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक लाख राशि सहितको पुरस्कार प्रदान गरेको हो । पत्रकार तथा कोसी अनलाइनका सल्लाहकार/परामर्शदाता ठाकुर बेलवासेलाई राष्ट्रिय पत्रकारिता पुरस्कार- २०७८ प्रदान गरेको छ ।

२०५४ सालदेखि पत्रकारिता गर्दै आएका बेलवासे रेडियो र टेलिभिजन पत्रकारितामा लोकप्रिय मानिन्छन् । २०५४ सालदेखि जनसत्ता सप्ताहिकबाट पत्रकारिता सुरु गरेका बेलवासेले दर्जनभन्दा बढी सञ्चार माध्यममा काम गरेको अनुभव सँगालेका छन् । कौटिल्य सप्ताहिक, रेडियो नागरिक र रेडियो अन्नपूर्ण नेपाल लगायत आधा दर्जन सञ्चार माध्यममा सम्पादकको भूमिकामा रहेर काम गरेका बेलवासे अहिले एपीवान टेलिभिजनसँग आवद्ध छन् । एपीवानमा उनले आइतबार र बुधबार एपी मञ्च कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपाली कविता सहित्यमा स्थापित कवि बेलवासेका चार कविता कृति प्रकाशित छन् । उनले राष्ट्रिय कविता महोत्सव २०५८ मा तृतीय र २०६९ मा प्रथम स्थान हासिल गरेका छ्न । यस्तै, बेलवासेको कविता कृति ‘त्रासमा ईश्वर’ले २०६९ सालको साझा पुरस्कार प्राप्त गरेको छ । बेलवासेले मोती पुरस्कार, स-सिद्दि राष्ट्रिय प्रतिभा पुरस्कार, भोग्यप्रसाद शाह राष्ट्रिय पत्रकारिता पुरस्कर, लुनकरणदास- गङ्गादेवीचौधरी नवप्रतिभा पुरस्कार लगायत दर्जन भन्दा बढी पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् ।

सरकारले वरिष्ठ पत्रकार सम्मान २०७८ किशोर नेपाल र तारानाथ दाहाललाई प्रदान गरेको छ । यस्तै सरकारले राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू बालकुमार नेपाल, डिआर पन्त , गङ्गा बराल, सम्झना बन र इकबाल अहमदलाई पुरस्कृत गरेको छ । पुरस्कृत पत्रकारहरूलाई राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी हुन् । प्रेस काउन्सिलका सदस्यसमेत रहेका बेलवासे हाल देश बाहिर रहेकाले नेपाल फर्किएपछि पुरस्कार ग्रहण गर्ने बताए ।