• २०८२ बैशाख ७ आइतबार

मेरो देश

कमला गौतम

कमला गौतम

बोकेँ यो हतियार हो कलमको, लेख्दै गरेँ गर्जना
मेरो देश यहाँ भयो सकसमा, आफ्नै थिए तर्कना
कुर्ले माइकमा हदै उनीहरू, जिब्रा दुइटा थिए
के बुझ्ने जनले बुझाऊ मनले, लौ हेर ती जङ्गिए ।

पाखा यी पहरा झुलेर रसिला, हेर्दै खुसीले अनि
सेताम्मै हिउँमा हिमाल छ हेरौँ, टल्के र चाँदीसरि
यस्तो सुन्दर शान्त सान नगरी, माटो रुँदै हेर त
यो नेपाल बने खुसी मन हुने, सौन्दर्यको लालच ।

लेख्थे लेख्न यसै सबै कविहरू, पोखेर अक्षर् छरी
लाग्दै हो यसरी सराप छ सती, राम्रा टिकेनन् हरि
यस्तै हो त भने लडाइँ- झगडा, बाटो हरायो यहाँ
राम्रो सोच भलो भएन उनको, नेता बने देशमा ।

कस्तो देश भयो हरे शिव यहाँ, मेरो र तेरो दल
देख्दैछौ अतिमा हुदैछ खतिमा, यस्तै नराम्रो पल
कच्चा हुन्छ उसै चुँडेर चुँडियो, धागोसरि देख्न
लेख्दैछौ यसरी सुने अनि बसे, कापीभरि लेखन ।


(गौतम चर्चित साहित्यकार हुन् ।)
[email protected]