• २०८१ माघ ९ बुधबार

म पृथ्वीनारायण शाह

विश्वविमोहन श्रेष्ठ

विश्वविमोहन श्रेष्ठ

जोडेर धेरै मनहरू
फोडेर धेरै किल्लाहरू
यो देश बनाउने
अपराधी मै हुँ
गुमनाम तिमीलाई
नाम दिएर
स्वाभिमान तुल्याउने
अपराधी पनि मै हुँ
जजसले आँखा लगाए
यो माटोमाथि
गर्दन रेटेर तिनीहरूको
खुँडा पखाल्ने पनि मै हुँ
हो, यो देश बनाएर
अपराध गरेको भन्छौं भने
त्यो अपराधी पनि मै हुँ
हो, यो देश बनाउने
अपराधी मै हुँ ।

तिमीले उठाएको
त्यो रातो झण्डा
फहराउने
अपराधी मै हुँ
तिम्रो धमिनीमा
हरदम बहने
चेतनाको ज्वाला
मै हुँ
बारबार झुकाएर
आफ्नो शिर
तिम्रो शिर उठाउने
अपराधी पनि मै हुँ
यो गम्बा बनाउने मै हुँ
यो गिर्जा ठड्याउने मै हुँ
मस्जिद, मन्दिर पुज्ने मै हुँ

चर्केर चिराचिरा भएको
पीडालाई पखालेर
सङ्लो देश बनाउने
अपराधी पनि मै हुँ
हो, जजसले घात गरे
यो माटोमाथि
त्यो फिरङ्गीलाई लखेट्ने
अपराधी पनि मै हुँ
थाकेर लखतरान
हर साँझ
तिम्रो नानीसँग
कोक्रोमा निदाउने
त्यो निषाद पनि
मै हुँ
हर बिहान
झुल्केर घामसँग
तिम्रो अनुहारमा पोखिने
उज्यालो पनि मै हुँ ।

आऊ, मलाई कोपर
चिथोर
पारेर नाङ्गेझार
सडकमा घिसार
म कदापि आहत हुन्न
यो माटो मेरो हो
यो कहिल्यै पराईलाई दिन्न
छिनालेर मेरो सालिक
तोड, फोड
एकता यो टुट्न दिन्न
बग्छ भने बगोस्
रगतको नदी
म यो देश मर्न दिन्न
म यो देश मर्न दिन्न ।