• २०८१ श्रावाण १२ शनिवार

गिरीको कवितासंग्रह‘साकुराको देशबाट’बजारमा

कवि मञ्जु गिरीको‘साकुराको देशबाट’कवितासंग्रह लोकार्पण गरिएको छ । उनको सो कृति प्रकाशक कृष्णराज देवकुमारी ट्रस्ट नेपालको आयोजनमा सार्वजनिक गरिएको हो । वरिष्ठ नाट्यकर्र्मी तथा कार्यक्रमका प्रमुख अतिथि अशेष मल्ल, विशेष अतिथिहरू नेपाल प्रज्ञाप्रतिष्ठानका आख्यान विभाग प्रमुख माया ठकुरी, नियात्राकार युवराज नयाँघरे, शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली र ऋषदेव घिमिरेले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

नियात्राकार नयाँघरेले घर- आँगन भुईकै स-साना कुरा लेख्दा नै कविता जीवन्त हुने र कवितामा वास्तविक जीवन आउने बताए । उनले भने,‘डायोस्परा लेखकले समय चोरेर लेख्नुपर्छ । समय चोरेर लेखेका उनका कविता कलात्मक, सुन्दर र सूक्तिमय छन् । ऋषवदेव घिमिरेले कवितामा विविध विषय समेटिएको बताए । कवितामा नारी चेतना, प्रकृति चित्रण, वात्सल्य प्रेम, राजनीति कटाक्ष जस्ता विविध विषय समेटिएको छ । शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले कविताले सामाजिक रूपान्तरण सन्देश दिएको बताए ।

नेपाल प्रज्ञाप्रतिष्ठानका आख्यान विभाग प्रमुख माया ठकुरीले महिलालाई लेख्न सहज नभएको बताइन् । चुलाबाट सुरु भएको महिलाको दिनचर्या चुलामै टुंगिन्छ । झन् परदेशमा बसेर लेख्न त्यत्ति सहज हुँदैन । यति हुँदाहुँदै पनि उनले गहिराइमा पुगेर मार्मिक कविता लेखेकी छन् ।

प्रमख अतिथि अशेष मल्लले सबै कविता मन छुने भएको बताए । उनले भने, ‘पढाउँदा र लेख्दाको सिर्जनामा फरक हुन्छ । कविताको परिभाषा नै हुँदैन । मन छोयो भने कविता हो नत्र त्यो कविताको नाउँमा भावना मात्रै हो ।  कवितामा मीठो अनुभूति आएको हुनुपर्छ ।’ जापानलाई कर्म क्षेत्र बनाउँदै आएकी कवि गिरीका उक्त संग्रहमा पचपन्न कविता सङ्गृहीत छन् । यसअघि ‘सपना हराएको देश’ कवितासंग्रह बजारमा आएको छ ।

सिर्जना शर्माले चलाएको कार्यक्रममा आलोक चालिसे, केवी पारखी, गंगा खड्का, जयन्ती पोखरेल, शान्ता पोखरेल, मञ्जिला अनिल, ममता मृदुल, राजुबाबु श्रेष्ठ, श्रीराम राई जस्ता साहित्यकार तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।