एउटा अचम्मको गाउँ,गौतमपुर,दूर पश्चिममा। दुई अति मिल्ने मित्र, युवराज र ज्ञानेद्र कवि । आज, हो आज युवराजको जन्म दिन, युवराजको अर्को नाम रवि, रवि र कवि मिलेर गए जन्मदिन मनाउन जङ्गलतिर । एउटा आश्रममा पुगे । “यार रवि, आज तिम्रो जन्मदिन, स्वामीजीको दर्शन गर्ने ?“ कविको प्रश्न । “यार कवि, मलाई यस्ता स्वामीहरू प्रति कत्ति पनि भरोसा छैन । जीवनभरि “ श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरून् !“ भन्ने त्यति असल मान्छेको परिवार एक रातमा स्वाहा भयो, जेठ १९ आयो कि मन कस्तो कस्तो हुन्छ । यो अवतार,ईश्वरको घनचक्करमा नपर्ने यार ! जङ्गलमा मङ्गल ! गीत लेख, गीत, चराहरूको । स्वामीजीहरू त बिचरा !“ तर कविले लगेरै छोड्यो । “ स्वामी कामानन्द सरस्वती“ बोर्डमा नाम । औपचारिक बने। नमन गरे । वरिपरि सात चारु कन्या, बुझ्दा, डिभोर्सीहरू, अति सुन्दर । रवि र कविको पनि मन रसायो, आखिर भमर न परे, फूलको आकर्षण, सामान्य । “ नमन स्वामिजी !“ कवि । “ स्वामीजी,आज मेरो मित्र रविको जन्म दिन !“ “नमन स्वामीजी !“ रवि ।
“आयुस्मान भव वत्स ! ईश्वरले तिम्रो आयु लामो बनाऊन् ! ईश्वरको कृपा सदैव रहोस् ! बुझ्दरोभ !! “ मीठो बोलीमा, स्वामी । रवि कड्कयो,“ न ईश्वरले,न भूपिनले,न नदीनले,न उदयले,न लेखरामले,न निमेष निखिलले,न अरू कसैको कृपाले मेरो आयु लम्बिने हो,केको ईश्वर ? कताको प्रभु ? यो अन्धविश्वासको खेती कहिलेसम्म ? मान्छेलाई कति ऊल्लू बनाउनुहुन्छ ? काम गर्न नसकेर यो बाना फेरेको हो ? मेरा मित्रहरू प्रेम रिमाल र बलराम तिमिल्सिनाको फेला पर्नुपर्ने ! चाहिएन हजुरको आशीर्वाद !! फोकटिया नाटक !! यार कवि, किन ल्याएको यहाँ ? “स्वामीजी जिल्ल । “कस्तो पापी नास्तिक रहेछ ! “मनमा कुरा खेले स्वामीजीको । बोलेनन् । रवि र कवि फर्किए । “के भयो रवि ? किन यस्तो पारा ? “कवि । “अस्ति डबलीमा सतिसालको कविता सुनेपछि यो आस्तिकताको चक्कर छोडियो यार ! मेरो आयु लम्ब्याउने त टाउको, मुटु, फोक्सो, मिर्गौला, आन्द्रा, कलेजो, स्वस्थ आहारबिहार, सत्सङ्ग, स्वस्थ चिन्तनले हो । व्यायामले हो । यस्ता स्वामीको आशीर्वादले हो ? ए आईको युगमा म ईश्वर जप्ने ? म मूर्ख हुँ र ?“
“सही पकडे ! तर यार, यो दुनियाँ …!“
“छोड यार, आफ्नो कुरा गर्ने ! मान्छे नै सबैथोक, मानवता मूलधर्म, सकियो ! “घर फर्किए जोडी ।
धनराज गिरी