भुलेर आफैँले आफैँलाई
बिर्सेर सपना र रहरहरू
निर्दोष, मृदु पालुवाहरूमा
नवीनतम उत्साह भरीभरी
पोषण भरेर नथाक्ने
उनैका जीवन सजाउन
तिनैमा भर्न जीवन्त रोगन
स्वतस्फूर्त छ तिम्रो ममता
आमा !
अतुलनीय छ,
हर कष्टहरूमा
लुकाई पिडाका पहाडहरू
मुस्कानले जीवन भरिदिँदै
हुर्काउँछिन् आफैँभित्र नवजीवन
कलिला मुनाहरूलाई
हरपल आँखाका नानीभित्र लुकाउँदै
निस्फिक्री मुस्कुराउन दिन्छिन्
निर्भिक भएर रमाएको हेर्दै,
जब छत्र छायाँ टाढा हुन्छ उनको
तब संकेत मिल्छ अनिष्टको
भय नै भय हुन्छ सदैव
निमोठन्छन् की चिचिलाहरू भनि
त्यसैले त भर्खरै उम्रेका पिपिरालाई
पूर्ण जीवन दिने कर्तव्य निभाइ रहन्छिन्
तिनैलाई फलाउन फुलाउनका लागि
कहिले छाहारी भएर छोप्छिन्
सहन्छिन चट्टान भएर घामपानी
चल्लाहरू सुरक्षित पारे झैँ माउले
कहिले न्यानोपनले सेक्छिन्
कहिले शितल मलम लगाउँछिन्
पहिलो डाक्टर बनेर
को खाइको खाइ र ताते ताते गराउँदै
पहिलो शिक्षक उनी बन्छिन्
नअङ्कुराउँदै सुकी जालान् की भनि
निष्पाप ती टुसाहरूलाई
नटुसाउँदै ओइलि देलान् की भनि
ती कोमल कोपिलाहरूलाई
ममतामय स्पर्शले
मलजल गरि रहन्छिन्
ती साना मनहरुलाई
माया र सुरक्षाले
अपार आनन्दित बनाउँछिन्
आफू दुःख खपेर फेरि पनि
सन्तानकै सुखको लागि रमाउँछिन्
बनाएर हृदय नव आगन्तुकलाई
समर्पण गरेर जीवन उसैलाई
लुकाउँदै आँसुका ढिकाहरू
चुपचाप पखेटा लगाइ दिन्छिन्
बिदागर्नु परे पनि मन गाँठो पारेर
स्वागत गर्छिन् निष्ठुरीहरूलाई
उनको अन्तिम स्वासले पनि
डाकिरहन्छ तिनै मायाका डोरीहरूलाई ।।
(काठमाण्डौ निवासी पोख्रेल युवा कवि हुन् ।)
[email protected]