• २०८२ असार १६ सोमबार

कान्तिपुरी नगरी

भानभुक्त आचार्य

भानभुक्त आचार्य

चपला अबलाहरू एक् सुरमा,
गुनकेसरीको फूल ली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी ।।

यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ ।
जनकी यसरी सुखकी सगरी,
अलकापुरी कान्तिपुरी नगरी ।।

कहीँ भोट–र लन्डन–चीन–सरी,
कहिँ कालभरि गल्ली छ दिल्ली–सरी ।
लखनौँ–पटना–मदरास–सरी
अलकापुरी कान्तिपुरी नगरी ।।

तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुकसम्म भिरी ।
अतिशूर–र–वीर–भरी नगरी,
छ त कुन– सरि कान्तिपुरी नगरी ।।

रिस राग कपट् छल छैन जाहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारी गरी,
शिवकी पुरी कान्तिपुरी नगरी ।।