• २०८१ माघ ९ बुधबार

अत्यास

ईश्वर पोखरेल

ईश्वर पोखरेल

पोहोर छोरो गयो- विदेश; यसपटक छोरी । अब घरमा ऊ मात्र रही । र, बाँकी रह्यो- एक अत्यासलाग्दो शुन्यता ।
ऊ आज तरकारी किन्न भनेर घरबाट निस्केकी थिई ।
छोरालाई ब्रोकाउलीको तरकारी मन पथ्र्यो; छोरी भेडेखोर्सानीको तरकारी भनेपछि हुरुक्क हुन्थी । ऊ आफूलाई के मन पथ्र्यो हँ ! सानामा उसलाई ग्याँठकोबी मन पथ्र्यो ।
ग्याँठकोबी न छोरो खाने न छोरी । त्यसैले उसले त्यो कहिल्यै ल्याइन पनि । छोरा र छोरीलाई मन पर्ने तरकारी जटाउने ध्याउन्नमा उसले आफ्नो बाल्यकालको रुचि बिर्सी पनि सकेकी थिई ।
आज उसका आँखा तरकारी पसलमा थिए । तरकारीका प्रकारसंग गाँसिएर आउँथे- ती तरकारी पकाएको दिन भान्सामा छोरा र छोरीले देखाउने प्रतिक्रियाको झल्को ।
ऊ अलमल्ल परी: छोरालाई मन पर्ने किनोस्; छोरीले रूचाउने किनोस्; कि आफैले बिर्सिसकेको आफ्नो रुचिलाई खोदलखादल गरेर ग्याँठकोबी किनोस् ।
ऊ उसै फर्किई- घर ।
घरमा पुगेपछि ढोका खोली, भित्रबाट चुकुल लगाई र भुँइमा थचक्क बसेर क्वाँ क्वाँ रुन थाली ।
ऊसंग आज ‘आमा, भोक लाग्यो; झट्टै पकाउनोस् न’ भन्ने पनि कोही छैन; ‘खोइ, के तरकारी ल्याउनु भयो’ भनेर झोला खोदलखादल पार्ने पनि कोही छैन; रुँदा आँसु पुछि दिने पनि कोही छैन ।


ईश्वर पोखरेल
महालक्ष्मी–३, बोझेपोखरी; ललितपुर
[email protected]