• २०८२ चैत्र २५, बुधबार

केशव दाहालको नयाँ उपन्यास ‘इथा’ लोकार्पण

काठमाडौंँ ।

लेखक तथा स्तम्भकार केशव दाहालको नयाँ उपन्यास ‘इथा’ शनिबार लोकार्पण गरिएको छ । उक्त समारोहको मुख्य आकर्षण शिल्पी थिएटरले तयार पारेको गीति नाटक थियो, जसमा उपन्यासका पात्रहरू- वसुधा, लखा, धान्यवती, नयनतारा, सौरन्द्रीलाई अभिनयमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भूषिता वशिष्ठले ‘इथा’ उपन्यासमाथि विमर्श गर्दै यसलाई केवल ऐतिहासिक आख्यान मात्र नभई पौरस्त्य दर्शन र महिला स्वाभिमानको शक्तिशाली अभिव्यक्ति भएको बताउनुभयो । उहाँले उपन्यासका महिला पात्रहरूलाई पौरस्त्य दर्शनको ‘शक्ति’ अवधारणासँग तुलना गर्दै ती महिलाहरू साहस, विद्रोह र विनम्रताको प्रतीकका रूपमा उभिएको व्याख्या गर्नुभयो । वशिष्ठले भारतीय साहित्यमा ‘वैशालीकी नगरवधू’ले स्थापन गरेको मापदण्डको स्मरण गर्दै ‘इथा’ पनि नेपाली साहित्यमा नयाँ उचाइ निर्धारण गर्न सक्ने कृतिका रूपमा मूल्यांकन गर्नुभएको छ । उहाँले भन्नुभयो, इथाको कथा प्रवाह, पात्रहरूको आत्मसंघर्ष र निर्णायक अडानले पाठकलाई भित्रैदेखि छुन्छ । यो पुस्तक सबैले एकपटक पढ्नैपर्ने कृति हो ।

उपन्यासले करिब २ हजार ४ सय वर्षअघिको ऐतिहासिक, पौराणिक र किंवदन्तीमूलक परिवेशलाई आधार बनाएर वैशालीबाट मञ्जुपट्टन आइपुगेका लिच्छविहरूको विजय र नयाँ राज्यको स्थापना कलात्मक ढंगले प्रस्तुत गरेको छ । कथा केन्द्रित छ तीन महिला पात्रमा, जो साहस, विद्रोह र विनम्रताको प्रतीक हुन् । उनीहरू युद्ध, प्रेम र प्रताडनासँग जुध्दै आफ्ना सपना र स्वतन्त्रताको खोजीमा उकालो चढ्छन्, अन्ततः मञ्जुपट्टनमा राज्य विप्लवको जग तयार हुन्छ ।

केशव दाहालको पहिलो कृति ‘नेपाली राजनीतिको पुनर्गठन’ (२०७३) हो भने दोस्रो उपन्यास ‘मोक्षभूमि’ ले २०७७ सालको पद्मश्री साहित्य पुरस्कार पाएको थियो । तेस्रो कृति ‘माधवी ओ माधवी’ (२०७९) हो भने ‘इथा’ (२०८२) उनको चौथो प्रकाशित कृति र दोस्रो उपन्यास हो । उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो । उपन्यास भक्तपुरको राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा भएको थियो ‘इथा’ महिला स्वतन्त्रता र स्वाभिमानको सशक्त घोषणापत्रको रूपमा नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिने आशा गरिएको छ ।