• २०८० मंसिर १३ बुधबार

गुरुङको ‘जब एउटा मान्छे हराउँछ’कवितासंग्रह विमोचन

काठमाडौँ- कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै समीक्षक बिन्दु शर्माले चन्द्र गुरुङका कविता सरल भइकन पनि गहिरो भाव व्यक्तगर्न सफल रहेको बताइन् । ‘गुरुङका कविता सरल शब्दशैलीको भएपनि त्यसले दिने भाव गहिरो छ, ’शर्माले भनिन् ।

समीक्षक राजकुमार बानियाँले भने कवि गुरुङले कविता सिर्जनामा देखाएको निष्ठाको प्रशंसा गरे । ‘चन्द्र गुरुङ होहल्ला नगरी पनि शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन् । उनले कविताबाटै आफूलाई सम्पूर्ण रूपले पुष्टि गरेका छन्’ बानियाँले भने ।

अर्का वक्ता कवि श्रवण मुकारुङले दशकौंपछि पढ्दा समेत पुराना नलाग्ने कविता सिर्जना गर्न सक्नुनै चन्द्र गुरुङको विशेषता रहेको बताए । ‘सर्जकले आज सिर्जना गरेको रचना उसैले पछि पश्चाताप गर्नुपर्ने बन्नु हुदैन । भोलिको समयलाई समेत सान्दर्भिक हुने रचना गर्नसक्नुनै लेखकीय सामथ्र्य हो,’ मुकारुङले भने ।