कविता

काठमाडौं ।
प्रविधि वा उपकरणको अति प्रयोगले निम्त्याउने असरबारे लेखिएको बालकथा ‘गौरिकाको साहसिक यात्रा’ कथालयले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ । जसको अङ्ग्रेजी शीर्षक ‘Heroic Adventures of Gaurika’ छ । फारुक फुरकान सिकले लेखेको कथामा सुले फेयाज उजुनका चित्र छन् ।
टर्कीबाट प्रकाशित पुस्तकलाई नेपालीमा डा. विमलकुमार सुवेदीले सम्पादन गरेका हुन् भने यसका सम्पादक डा. रामप्रसाद ज्ञवाली हुन् । मोबाइल, ल्यापटप र टिभीको अधिक प्रयोगले परिवारमा कसरी संवादहीनताको अवस्था सिर्जना भएको छ भन्ने यथार्थ कथाले भनेको छ । यो हाम्रै घरसमाजको यथार्थ हो । प्रविधिको बढी निर्भरताका कारण परिवारमा एक्लोपन र विरानोपको अवस्था कसरी आइरहेको छ भनेर एक परिवारको दैनिकीलाई कथामार्फत् प्रस्तुत गरिएको छ ।
गौरिका बुबाआमासँग बोल्न चाहन्छिन्, दाजुसँग खेल्न र रमाउन चाहन्छिन् तर मोबाइलमा अभ्यस्त दाजु, ल्यापटपमै झुन्डिइरहने आमा अनि सधैँ टिभी हेरिरहने बुबासँग उनी दिक्क बन्छिन् । यस्तो अवस्था बदल्न उनी योजनामा लाग्छिन् । किताब पढाउने, संवाद गर्ने, रमाउने समय निकाल्न अनेक प्रयास गर्छिन् । यस प्रयासमा उनी कति सफल होलिन् ? के परिवारका अन्य सदस्यले गौरिकाको योजनामा समर्थन गर्लान् ? प्रविधिको लत छुटाउन उनी सफल होलिन् ? अनि फेरि यो परिवार पहिलेजस्तै रमाइलो बन्ला ?
पुस्तकले प्रविधिलाई कुन हदसम्म प्रयोग गर्ने, समयको व्यस्थापन कसरी मिलाउने, परिवारलाई कति वेला समय दिने जस्ता महत्त्वपूर्ण कुराको उठान गरेको छ । बालबालिका मात्रै होइन यो पुस्तक अभिभावकहरूका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ।