• २०८० असोज ९ मङ्गलबार

खेमा

कात्यायन

कात्यायन

“कति चिथोरी- कोपरी मात्र रहेको ? माया गरेर नङ्ग्याओ न ! अल्छी शरमछाडाहरू !“ हामीहरूले, उनीहरूका कुरा सुनेको न सुन्यै गरेर, साउने हरिया सुन्दर वस्त्रहरू, उतार्दै जाँदै थियौँ । कोही मुख मिठ्याउँदै थिए, “कलिला, रसिला दानाहरू त साह्रै स्वादिला पो हुन्छन् त !“ कोही अनुभव बखान गर्दै थिए, “मलाई त च¥याम्–च¥याम् टोक्न, छिप्पिएको, पोटिलो, कसिलो नै मन पर्छ !“

“हेरन, कति निर्मोही र शुष्क उरन्ठेउलाहरू ! स्रष्टाहरू भन्न नि नसुहाउनेहरू ! सुकोमल हातहरू अलि छिटोछिटो चलाओ न ! वाणीमा भने अलि नियन्त्रण राख हो !“ हामीलाई फुर्सद नै थिएन उनका कुराहरू सुन्ने । हामीहरू आफ्नै धूनमा थियौँ । आफ्नै भोकमा । आफ्नै उमङ्गमा । अर्को पारखीले बखान गर्यो, “यी पनि, हामी स्रष्टाहरू जस्तै, पौष्टिक, स्वादिला र सर्व–हितकारी हुन्छन् ।“

अर्कोले अझ थप्यो, “यिनीहरूलाई जसरी खाए नि हुन्छ । पोलेर, भुटेर, तारेर, उसिनेर, पकाएर, कुटेर, चुटेर, साँधेर‘ ! हरेक अङ्ग–अङ्गसमेत बुन्न, बनाउन, बाल्नसमेत काम लाग्ने गर्छन् ‘ ।“ उनीहरूले ओँठ लेप्राउँदै, च्याँठिए, “भयौ तिमीहरू, सर्व–हितकारी ? क्रूर पो बन्दैछौ त, आजका दिनहरूमा ?“ “के भन्छन् यिनीहरू ?“ बल्ल पो हामीहरूले, उनीहरू च्याँठिएका सुन्यौँ । र, भन्यौँ एकैस्वरमा, “चुप लाग ! स्रष्टा हौँ, स्रष्टा हामीहरू ! सचेतना जगाउने समाजमा !“

“छ्या ! लाजमर्दो !“ घृणा भरिएको थियो उनीहरूमा ।
“समाजका मार्गदर्शक हौँ हामीहरू ! युगद्रष्टा ! किरा पर्छ है हामीहरूलाई गाली गर्नेहरूलाई त !“ हामीहरूले आत्मसम्मान देखाउन खोज्यौँ । “हामीहरूलाई किरा पर्ने हैन । तिमीहरू कै सानो हेलचक्राईँले गर्दा, विभिन्न किराहरूले खाने मात्र हो हामीहरूलाई ।“ मकैहरूले समवेत–स्वरमा ब्यङ्ग गरे, “किरा त, तिमीहरूको दिमागमा परेको छ, ’अनेकौँ खेमाहरू’को !“


कात्यायन