• २०८३ बैशाख ३०, बुधबार

एकराज शर्मा अधिकारीको कृति ‘रचना कुसुम’ सार्वजनिक

राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङले साहित्यकार एकराज शर्मा अधिकारीको चौथो कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) लोकार्पण गरेको छ । घोराहीस्थित नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रमुख लोकसाहित्य अनुसन्धानकर्ता डाषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथिको रूपमा रहेका थिए ।

विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै पदमप्रसाद शर्माले ’रचना कुसुम’ लाई नेपाली साहित्यको एउटा ओजिलो प्राप्तिको रूपमा चित्रण गरे । उनले भने, “लेखक अधिकारीको यो कृतिले मानवीय संवेदना र आध्यात्मिक चेतलाई सरल तर गहिरो ढङ्गले प्रस्तुत गरेको छ । पुस्तकको उपशीर्षक ‘असतोमा सद्गमय’ ले भनेझैँ यसले पाठकलाई असत्यबाट सत्यको मार्गतिर डो¥याउने सामथ्र्य राख्दछ । भाषाको शुद्धता र भावको गहिराइले यो अत्यन्तै सुन्दर र प्रेरणादायी पुस्तक बनेको छ ।’

कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले शुभकामना मन्तव्य राख्दै कृतिको सफलताको कामना दिएका थिए । वक्ताहरूले लेखकको लामो साधना र अनुभवको निचोडका रूपमा यो कृति आएको बताए ।

लेखकका तर्फबाट सुपुत्र ईश्वरीप्रसाद शर्मा अधिकारीले कृतिको पृष्ठभूमिबारे चर्चा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए । कार्यक्रममा दाङका प्रतिष्ठित साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।