समाचार
१९, फागुन, काठमाडौँ
लमजुङका त्रिमूर्ति साहित्यकारहरू एकसाथ सम्मानित । काठमाडौंको नित्यराज पाण्डे प्रज्ञा प्रतिष्ठानले लमजुङका साहित्यकारहरू क्रमशः गोविन्दबहादुर कुँवर, विजयराज न्यौपाने र मुक्तिनाथ घिमिरेलाई फागुन १४ गते बेसीशहरमा एक विशेष समारोह बीच सम्मान गरेको हो ।
लमजुङ जिल्लामै रही नेपाली साहित्य, संस्कृति तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएका मध्येबाट जिल्लाको भाषा, साहित्य, संस्कृति, कला क्षेत्रमा बिशिष्ट योगदान पुर्याए वापत ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार– २०७८ बाट साहित्यकार गोबिन्दबहादुर कुँवरलाई सम्मान गरेको हो । त्यसैगरी प्रतिष्ठानले शिक्षा क्षेत्रमा विशिष्टता हासिल गर्ने वा महत्वपूर्ण योगदान गर्ने साहित्यकार मध्येबाट ‘सिद्धिराज, विद्ध्याकुमारी, देवकुमारी- शैक्षिक पुरस्कार २०७८’ बाट लमजुङका अर्का साहित्यकार विजयराज न्यौपानेलाई सम्मान गरेको छ । त्यस्तै प्रतिष्ठानले ज्ञान विज्ञान क्षेत्रमा समर्पित रहीविशेष योगदान पुर्याउनेहरुलाई दिइने ‘नित्यराज पाण्डे- ज्ञान विज्ञान पुरस्कार– २०७८’ साहित्यकार मुक्तिनाथ धिमिरेलाई सम्मान गरेको छ । घिमिरे लोपोन्मुख लमजुङे ठाडो भाका र दुरा भाषाका अनुसन्धानकर्ता समेत छन् । पुरस्कृत तथा सम्मानित भएका सबै जना साहित्यकारले लमजुङको शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन् ।
