• २०८३ आश्विन ११, आईतवार

बोस्टनमा ११७ औँ देवकोटा जयन्ती भव्य रूपमा मनाइयो

बोस्टन ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरले नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती श्रद्धा, सम्मान र उत्साहका साथ मनाएको छ । कार्यक्रम बोस्टनस्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (प्याब्फोन) को सामुदायिक भवनमा सम्पन्न भएको थियो । नेपाली साहित्यमा आधुनिक महाकाव्यको थालनी गर्ने तथा नेपाली भाषामा सबैभन्दा बढी बिक्री हुने पुस्तक ‘मुनामदन’ का रचनाकार देवकोटाको जन्मजयन्तीको आयोजनाले प्रवासी नेपाली समुदायभित्र साहित्यिक एकता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानप्रतिको समर्पणलाई अझ सुदृढ बनाएको छ ।

कार्यक्रमको अध्यक्षता अनेसास बोस्टन च्याप्टरका नवनिर्वाचित अध्यक्ष अवि गजुरेल ले गर्नुभएको थियो भने संयोजन उपाध्यक्ष प्रकाश खड्काले, सञ्चालन महासचिव प्रतीक रावलले गर्नुभएको थियो । सम्पूर्ण कार्यक्रम साहित्यिक ऊर्जाले, भक्तिभाव र हार्दिकताले ओतप्रोत रह्यो । कार्यक्रममा अनेसास केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, सल्लाहकार तथा निवर्तमान अध्यक्ष गोवर्धन पूजा, बिडिए केन्द्रीय अध्यक्ष तथा निवर्तमान अध्यक्ष महेश्वर पन्त, पूर्वअध्यक्षहरू हरी काफ्ले र यम पौडेल, प्याबफोनका निवर्तमान अध्यक्ष तथा ट्रस्टी विरोचन नेपाल, बिडिए अध्यक्ष तथा प्याबफोन ट्रस्टी राम थापा, प्याबफोन वरिष्ठ उपाध्यक्ष मिलन कुमार कार्की, कवयित्री तथा कलाकार अनु शाह, सचिव दीपेन्द्र पोखरेल, कोषाध्यक्ष सुजन खरेल, र सदस्यहरू गुरु अधिकारी, शेरबहादुर बोहरा, शारदा पन्त, जनक खरेल लगायतका साहित्यप्रेमी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

सहभागीहरूले महाकवि देवकोटाका अमर कृतिहरूमा आधारित कविता, गीत र वक्तव्य प्रस्तुत गर्दै उनको योगदानप्रति गहिरो श्रद्धा र सम्मान अर्पण गरे। वक्ताहरूले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनमा प्रवासी नेपालीहरूको साझा भूमिका अपरिहार्य रहेकोमा जोड दिए। उनीहरूले देवकोटा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक रहेको, र उनका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किने उल्लेख गरे ।

अनेसास बोस्टनले यस्ता कार्यक्रममार्फत नेपाली साहित्य, कला र संस्कृतिको उत्थानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ र आगामी दिनमा थप परियोजनाहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ । प्याबफोनले पनि आगामी कार्यक्रमहरूमा अनेसास बोस्टनसँग सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रमको सफलताका लागि आयोजन समिति, सहभागी साहित्यप्रेमी, विभिन्न संस्थाका प्रतिनिधिहरू र सम्पूर्ण नेपाली समुदायलाई आयोजक समितिले धन्यवाद दिएको छ ।