• २०८१ भाद्र २४ सोमबार

गणितको त्यो प्रश्न

येहूदा अमिखाई

येहूदा अमिखाई

मलाई अझै सम्झना छ
गणितको किताबमा भएको त्यो प्रश्न
एउटा रेल गाडी ‘क’ स्थानबाट छुट्छ
र अर्को रेल गाडी ‘ख’ स्थानबाट छुट्छ
तिनीहरु कहिले भेटिन्छन् ?

कसैले कहिले पनि सोधेन
के हुन्छ जब तिनीहरू भेटिन्छन्
रोकिन्छन् कि नरोकिईकन छेउबाट जान्छन्
अथवा सम्भवतः आपसमा ठोक्किइन्छन् ?

र, कसैले सोधेन
‘क’ स्थानबाट हिँडेको लोग्नेमान्छे र
‘ख’ स्थानबाट हिँडेकी स्वास्नीमान्छे
तिनीहरू कहिले भेटिन्छन्
के तिनीहरू भेटिन्छन् कुनैदिन
र भेटिए भने कति समयका लागि ?

अनि, जहाँसम्म प्रश्न छ- त्यो गणितको किताबको
म अहिले पुगिसकेको छु- त्यसका अन्तिम पानाहरूतिर
जहाँ छ- उत्तरमाला ।

त्यति वेला अनुमति थिएन यसलाई हेर्ने
तर अहिले छ अनुमति
अहिले म हेर्नसक्छु-
म कहाँ सही थिएँ र कहाँ गलत
र बुझ्नेछु- मैले के ठीक गरेँ र के ठीक गरिनँ !