वसन्तवेला
काठमाडौं ।
गायिका दीपा भण्डारीको पौराणिक देउडा चुट्किला ‘चुटुकी लालै’ म्युजिक भिडियोसहित बजारमा आएको छ । भण्डारीले परम्परागत देउडा लयमा रहेको चुट्किलालाई आधुनिक प्रविधिको प्रयोग गर्दै म्युजिक भिडियोका रूपमा सार्वजनिक गरेकी हुन् । चुट्किलाको पहिलो हरफ ‘काटिया पहुँलो चुटुकी लालै चुटुकी, भोलिका बिहान गैजान्छु लालै गैजान्छु’ रहेको छ ।
ठाडीभाकामा प्रस्तुत गरिएको चुट्किलामा चाडपर्वका बेला माइतीघर आएकी महिलाले आफ्नो घर फर्किने बेलामा अनुभूति गर्ने पीडा र भावनालाई प्रस्तुत गरिएको छ । साबिक कर्णाली क्षेत्रमा प्रचलित उक्त चुट्किला त्यहाँका लोकजीवन र सांस्कृतिक परम्परासँग जोडिएको मानिन्छ ।
‘चुटुकी लालै’ मा दीपा भण्डारीको स्वरलाई गायिका विष्णुदेवी शाहीले साथ दिएकी छन् । परम्परागत देउडा संस्कृतिमा आधारित चुट्किलालाई नयाँ पुस्तामाझ र्पुयाउने उद्देश्यले आधुनिक प्रविधिमार्फत म्युजिक भिडियो निर्माण गरिएको जनाइएको छ । पौराणिक लोकभाका र स्थानीय सांस्कृतिक भावनालाई समेटिएको ‘चुटुकी लालै’ले कर्णाली क्षेत्रको मौलिक लोकपरम्परालाई संरक्षण तथा प्रवद्र्धनमा समेत योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।
