• २०७९ असोज १९ बुधबार

के अहम् गर्छौ ?

दुर्गाकिरण तिवारी

दुर्गाकिरण तिवारी

हिमालमा हिउँ चुलिएको छ
तर पग्लिन्छ ग्रीष्ममा
फेरि अर्को हिउँदमा बाक्लिन सक्छ
झन् चुलिन सक्छ
ऊ हिउँ हो, यथार्थ हो र प्रकृति हो
उसको पहिचान कसैले मेटेर मेटिँदैन
अनवरत चुलिइरहन्छ समयसँगै ।

तिमी आफ्नो
पहिचान बनाउन
चुलिन
अर्कालाई काँध थाप्न लगाउँछौ
थामेको काँधले
चुलिएको मानले
के छाती फुलाउछौ ? के अहम् गर्छौ ?

म अर्थ खोज्छु
चुलिनुको
फुलिनुको
अर्काको काँध चढेर
जब आफैँले आफैँलाई छाम्दा भेटिँदैन
महसुस हुँदैन गरिमाको कठै !

हो मात्र अर्थहीन देख्छु
आफैँलाई ढाँटेर कमाएको प्रतिष्ठाले
कति सन्तुष्टि मिल्ला ?
कति आनन्द मिल्ला ?

लाग्छ, जब काँध थाक्छ
अनि काँध छोडिदिन सक्छन् थाप्नेहरूले
तिमी ड्याम्म गिर्न सक्छौ  शिखरबाट
औचित्यहीन हुनपुग्छौ त्यतिवेला
अनि सम्झनेछौ चुलिनु र गिर्नुको अर्थ

तिमीले टेकेको धर्ती धर्मराउनेछ
किनकि, तिमीलाई थमाउने काँध र
तिमीले उभिन पहिरिएको जुत्ता
अर्कैको थियो,
त्यति वेला प्रश्न गर्नेछन्
तिमीलाई खै तिम्रो पहिचान ?
खै तिम्रो अस्तित्व ?


(तिवारी चर्चित साहित्यकार हुन्)
[email protected]