काठमाडौंँ ।
‘मौलशोभा राई आमा सम्मान, २०८१’ कवि दीपा राई पुनकी आमा विमला चाम्लिङ राई (साम्पाङ)लाई प्रदान गरिएको छ । सम्मानका साथ नगद राशि ५० हजार एक रुपैयाँसमेत प्रदान गरिएको छ । बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति अग्रज कवि बैरागी काइँला र प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सम्मान प्रदान गरे ।
प्रमुख अतिथि कविवर काइँलाले यो पुरस्कार आफैँमा फरक किसिमको भएको बताउँदै सर्जकलाई जन्मदिने आमालाई सम्मानित गर्ने कामको थालनी गरेर डा. पुरण राईले उत्तर आधुनिक काम गरेको उल्लेख गरे । कवि काइँलाले भने, ओझेलमा परेका आमाहरूको सम्मान गरिनु विशेष सह्रानीय काम हो । यस नवीन धारणाका लागि डा. राईलाई जतिनै धन्यवाद दिए पनि कम हुन्छ ।’