• २०८२ जेठ १ बुधबार

“सद्भाव र उमंगको पर्व होली’

रञ्जना निरौला

रञ्जना निरौला

चिसोले कठाङ्ग्रिएको संसार, तुषारोले अंगालेको साँझ विहान, दुर्लभ घामको न्यानोपन र पतिङ्गरहरूको कसिङ्घरे आँखाहरू पुछ्दै वसन्तपञ्तमी आउँछ संसार र प्राणीमा नवीन सञ्चार भर्छ । नवीनउमङ्ग र उल्लास लिएर, वसन्तपञ्चमीका घडी पलाबाट यात्रासुरू हुन्छ संसारलाई, प्रकृतिलाई सुनदरतम गति दिने ऋतूहरूको राजा वसन्त क्रृतुको । ऋतूहरूमा वसन्तको महत्त्व हरेक प्रकारले विशेष हुन्छ । यही वसन्त ऋतूले पाइला चाल्दै गर्दा आउँछ रंगविरङ्गी उमङ्ग र खुसी बोकेर फागु पर्व जसको खुसी रंगहरूको आदानप्रदानमा बाँड्ने चलन छ । जीवन जिउनु पर्ने या हिड्नु पर्ने यात्रा भरीका भोगाइका अनेक रंग भएर आउने रंगहरूनै होलीका रंगका प्रतिनिधी वा प्रतीक ह्न् जस्तो लाग्दछ हरेक रंगका फरक फरक विशेषता जस्तै । नेपालदेखि भारत र हरेक राष्ट्रमा निवास गर्ने हिन्दुहरूको महत्वपुर्ण पर्व हो फागु । यो रंगहरूको उत्सव बनेर आउने गर्दछ र वसन्तपल्लवितहुनु अगाडी नै छर्दछ रंगकाफूलहरू एक अर्काको गालामा र बढाउँछ सदभाव र प्रेम ।

सांस्कृतिक रूपमा हेर्दा होली होलिका दहनसँग सम्बन्धित छ । प्राचीन धर्मग्रन्थमा उल्लेख गरीए अनुसार हिरण्यकश्यपुकी बहिनी होलिकालाई ब्रह्माबाट आगोमा नजल्ने वरदान प्राप्त थियो त्यसैले आफ्नै विरोधीछोरा प्रल्हादलाई मार्न हिरण्यकश्यपुले होलिकालाई खटाएको र प्रल्हादलाई लिएर आगोमा फाल हालेकी होलिका जलेर भष्म भएकी र प्रल्हाद बाँचेको कथन पाइन्छ । कुनैपनि धार्मिक कथाहरूको आ–आफ्नो उद्देश्य वा उपदेश हुन्छ यो कथाले पनि अधर्मी तथा असत्य माथि सत्यको जितलाई देखाएको छ । होलिका भष्म भएको दिन फाल्गुण पूर्णिमा भएको र प्रल्हाद सत्यको पक्षमा आगोमा पनि बाँच्न सकेको विजयी उत्सवलाई होली पुर्णिमाको पर्वका रूपमा मनाउँदै आएको पाइन्छ । होलिका दहन होली खेल्नु भन्दा एकदिन पहिलेको रातमा गरिन्छ ।

होली रङ्गहरूको पर्व हो । यसको इतिहास त्रेतायुगसँग जोडिएको छ । वसन्तऋतूको आगमनको शंखघोष गर्ने होलीपर्वलाई फाल्गुण पूर्णिमाको अवसरमा मनाउने भएकाले यसलाई फगुवा वा फागु पनि भनिन्छ । नेपाल विविध कला र संस्कृतिले सम्पन्न देश हो । जहाँ चाडपर्वको विविधतापन छ । यही विविधता मध्येको एक फागु पर्व घर परिवार, साथीभाइ आपसमा रंग दलेर उल्लासपूर्ण रूपमा मनाउने गरिन्छ जसले तराई, पहाड, गाउँ, सहरका केटाकेटी, युवायुवती, वृद्ववृद्वा सबैलाई उमङ्गप्रदान गर्दछ । जीवनका, व्यवहारका कटुताहरू बिर्सेर एकअर्कासँग सौहाद्रपूर्ण सम्बन्धको प्रगाढ्ता रंगहरूले दिने भएकोले फागु सदभावको पर्व पनि हो ।

फागु हिन्दुहरूको सर्वप्राचीन पर्व हो । इतिहासविद्हरू भन्छन् यो पर्वको प्रचलन आर्यहरूमा पनि थियो साथै धार्मिक पुस्तकहरू नारदपुराण, भविष्य पुराण जस्तै हस्तलिपी र ग्रन्थहरूमा यसको उल्लेख पाइन्छ । पूर्विय साहित्यमा वसन्तऋतू र वसन्तोत्सव संगसंगै जोडिएर आउने प्रिय विषय थियो र छ ।

फागुनशुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरवारमा अगाडी चीर–विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने र फागु पुर्णिमाको रात त्यही चीर–लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको मानिन्छ ।

होली रंगहरूको पर्व हो । सदभाव र भाइचाराको पर्व हो । उमङ्ग र उत्साहको पर्व हो । विविध रङ्गका विविध अर्थ र सम्भावनाहरू सँगै एक भएको इन्द्रणी झैँ अनेकतामा एकताको प्रतीक हो । प्रकृतिले मुहार फेर्ने वसन्त ऋतूको आगमन, प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले संसार मानवलाई तरङ्गित तुल्याउने समय हो यो । वैदिकयुगमा जब वृक्षहरू नयाँ पालुवा फेर्थे, फूलहरू फूल्थे, जताततै सुगन्ध आउँथ्यो, गौ, जौका बालिहरू लहलहाउँथे र कोयली गाउन थाल्थे त्यस बेलालाई वसन्तऋतूको आगमन मानिन्थ्यो र वसन्तलाई ऋतूराज मान्दै स्वागतार्थ वसन्तोत्सव मनाइन्थ्यो भन्ने कुरा वेद तथा व्रहमण साहित्यभित्र वसन्तोत्सवको चर्चामा पाइन्छ । त्यही वसन्त उत्सवलाई रंग्याउँथ्यो फागुले जसका रंगहरुमध्ये रातो रंगलाई शक्ति र सौभाग्यको सूचक, हरियो रंगलाई प्राण, जीवनशक्तिएवं मार्मिकताको प्रतीक, पहेँलो रंगलाई भक्ति र धर्म परायणताको प्रतीक,.नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक, कालो रंग ईष्र्या र स्वार्थसँगको लक्षण र सेतो रंगलाई शुद्धताको प्रतीक मानिन्छ ।

कामसूत्रका रचइता वात्स्यायनले फागुन र चैत्र महिनालाई मदनोत्सवका रूपमा व्याख्या गरेका छन् । मदनोत्सवका देवता कामदेवले प्रकृति र पुरूषको मेल गराई सृष्टिलाई गतिशिल तुल्याउँछ । ब्रह्मवैवर्त पुराण अनुसार व्रह्माजीबाट सृष्टिको प्रारम्भ फागुन पूर्णिमा लगतै चैत्र महिनाबाट भएको हो भनिन्छ । होलीमा खेलिने पानी र रङ्ग, प्रकृति र पुरूषका यस्ता अभिन्न प्रतीक हुन जसलाई सृष्टि संरचनाको कारक तत्वका रूपमापनि लिन सकिन्छ ।

चडपर्वहरू हाम्रा लागि रमाइलो गर्ने, दुःख सुख साटने माध्यम र संस्कृति कै अभिन्न अंग हुन् । हामीले हाम्रो संस्कृतिलाई संरक्षण गरेर लानुपर्छ र संस्कृतिको नाममा हुने विभिन्न खालका विकृति, विसङ्गतिहरूप्रति सजग रहनु पर्छ । फागुका पनि केही विकृति देखिन्छन जस्तैः आजका युवाहरू इच्छा विपरित रङ्ग दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता ।

अन्ततः असत्य माथि सत्यको, अधर्ममाथि धर्मको, अन्याय माथि न्यायको विजय भएको खुसियाली मनाउने यो पर्व आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यसको मुख्य विशेषता हो । होलीपर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव हो । होली अर्थात फागुका रंग रुपिफूलहरुले हामीमाझ सद्भाव बढाउन रंगहरूजस्तै सुन्दर र पर्वहरू जस्तै सनातन।
होलीको शुभकामना ।