• २०८१ माघ ९ बुधबार

निबन्धसग्रह ‘तुइन जिन्दगी’ दोस्रो संस्करण विमर्श सम्पन्न

काठमाडौँ ।

लेखिका डा. रेणुका सोलुको संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘तुइन जिन्दगी’ दोस्रो संस्करण विमर्श कार्यक्रम शनिवार सम्पन्न गरिएको छ । नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रममा शान्ति रिसालले पाठकीय प्रतिक्रिया राखेकी थिइन् । उनले नारीहरूको सङ्घर्ष र त्यसको महत्वलाई गहकिलो तवरले दर्साएको बताइन् ।

पुस्तक समीक्षा गर्दै प्राध्यापक डा।रामप्रसाद ज्ञवालीले ‘तुइन जिन्दगी’ पढ्दै गर्दा चलचित्र हेरिरहेको जस्तो अनुभूति भएको र त्यो अनुभूति दिलाउन सक्नु शब्दको शक्ति भएको बताए । उनले पुस्तकले पितृसत्तात्मक समाजको कुरूपताको उद्घाटन गरिनुका साथै परिवार, समाज देखि गाउँ सहरमा बोध गरेका मित्र देखि शत्रुसम्म र सङ्घर्षमय सन्दर्भलाई पुस्तकमा शिलशिलावार तवरले लिपिबद्ध गरिएको टिप्पणी गरे ।

त्यस्तै, प्राध्यापक डा. ज्ञानु पाण्डेले डा. सोलुको लेखन शैलीको प्रशंसा गर्दै तुइन जिन्दगीले समाजमा पार्ने सकारात्मक प्रभाव बारे चर्चा गरिन् । पुस्तक समीक्षा गर्दै उनले राधाको सङ्घर्ष र सफलतालाई यर्थाथको धरातलमा प्रस्ट देखाएको छ भने त्यसले नव पुस्तालाई आत्मबल सहितको सङ्घर्षले मात्रै जीवनलाई सार्थकता तर्फ लैजान्छ भन्ने सन्देश प्रवाह गरेको बताइन् ।

कार्यक्रममा बोल्दै समाजसेवी, व्यवसायी तथा नेपाली काँग्रेसका नेता प्रकाश सिंह कार्कीले हिजो सगरमाथा र शेर्पाहरूले चिनाएको सोलुखुम्बुको शिरलाई लेखनको माध्यमबाट डा. रेणुका सोलुले उँचो बनाएको बताए । कार्यक्रममा डा. रेणुका सोलु स्वर्गीय बाबा आमालाई सम्झिएर भावुक बनिन् । उपस्थिति महानुभावलाई धन्यवाद दिँदै डा. सोलुले समाज परिवर्तनमा एउटा व्यक्तिले निर्वाह गर्न सक्ने भूमिका गरेको बताइन् । ‘तुइन जिन्दगी’लाई पाठकले मन पराएकै कारण दोस्रो संस्करण प्रकाशन गर्न पाउनु सुखद भएको बताइन् ।

कल्पना काफ्लेले सञ्चालन गरेको विमर्श कार्यक्रममा नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, तुइन जिन्दगी पुस्तकका प्रकाशक भुँडी पुराण प्रकाशनका अध्यक्ष केशव पराजुली, समाजसेवी विष्णुप्रसाद तिमिल्सिना, चन्द्र बहादुर खत्री, बलबहादुर थापा लगायत साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।