• २०८३ श्रावण ३१, आईतवार

‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८३’का पुस्तक आह्वान

सर्लाही ।

सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद्ले राष्ट्रियस्तरमा ख्याति कमाएका साहित्य साधकलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरेको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८३’ का लागि पुस्तक उपलब्ध गराउन आह्वान गरेको छ ।

परिषद्ले शनिबार सूचना जारी गर्दै वि.सं. २०८१ सालपछि नेपाली भाषामा प्रकाशित साहित्यिक कृतिका लेखकहरूसँग पुस्तक माग गरेको हो । साहित्यका जुनसुकै विधाका पुस्तक भए पनि स्वीकार गरिने परिषद्ले जनाएको छ । इच्छुक लेखकले आफ्नो सम्पूर्ण परिचय खुल्ने गरी दुई प्रति पुस्तक लालबन्दी नगर वाङ्मय परिषद्को कार्यालय लालबन्दी–७, सर्लाहीमा वि.सं.२०८३ असोज १५ गतेभित्र आइपुग्ने गरी पठाउनुपर्नेछ । म्याद नाघी प्राप्त पुस्तक छनोट सूचीमा समावेश नगरिने सूचनामा स्पष्ट पारिएको छ ।

प्राप्त पुस्तकमध्ये सर्वोत्कृष्ट ठहरिएको एक कृतिका स्रष्टालाई ५० हजार रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिनेछ । पुरस्कार तथा सम्मान वितरणको मिति, समय र स्थानसँगै उत्कृष्ट १० कृतिको नामावली पछि प्रकाशन गरिने परिषद्ले जनाएको छ । नेपाली भाषा, साहित्य, कला, सङ्गीत तथा संस्कृतिको प्रवर्धनका लागि क्रियाशील परिषद्ले हरेक वर्ष स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।

यसैबिच नेपाली भाषा तथा साहित्यमा दीर्घ साधना गरेका राष्ट्रिय व्यक्तित्वलाई प्रदान गरिने ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८३’ समेत ५० हजार रुपैयाँ राशिसहित प्रदान गरिने सूचनामा उल्लेख छ । परिषद्ले देशभरका साहित्यकार तथा प्रकाशकलाई आफ्ना प्रकाशित कृति पुरस्कारका लागि पठाउन अनुरोध गरेको छ ।