समाचार
काठमाडौँ ।
डायस्पोरिक साहित्यकार कृष्ण बजगाईंको बालउपन्यास ‘भताभुङ्गे दरबारको गाडधन’ बजारमा आएको छ । नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर रूपमा क्रियाशील बजगाईं नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्यमा कलम चलाउँछन् । धरानको ऐतिहासिक स्थल विजयपुरमा अवस्थित भग्न रूपमा रहेको भताभुङ्गे दरबारमा गाडधन खोज्न निस्केका साहसी तीन बालकले यात्रामा भोग्नुपरेका रोमाञ्चकारी र अनेपेक्षित घटनाहरू यस उपन्यासमा समावेश छन् ।
गाडघन भेटिएपछि उत्पन्न समस्याले पाठकलाई कौतुहल जगाउँछ। धार्मिक तथा ऐतिहासिक रूपमा महत्त्वपूर्ण विजयपुरको रोचक प्रसङ्ग र रहस्यहरूले भरिपूर्ण यस उपन्यासले बालबालिकालाई जीवनोपयोगी पाठ सिकाउँछ ।विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि उपयोगी, बालमनोविज्ञानमा आधारित यो उपन्यास ज्ञानवद्र्धक, शिक्षाप्रद र प्रेरणादायी छ । यो उपन्यास बालबालिकाको भाषिक क्षमता अभिवृद्धि गराउन उपयोगी छ ।
लामो समयदेखि विदेशमा बसेर नेपाली भाषा साहित्यको सेवामा समर्पित बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतको संस्थापक अध्यक्ष हुन् । उनले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ सम्पादन गर्दै छन् । ज्ञानवृक्ष पब्लिकेसन प्रालि काठमाडौंबाट रङीन चित्रसहित हार्डकभरमा प्रकाशित ‘भताभुङ्गे दरबारको गाडधन’ बालउपन्यासको मूल्य ३९० रुपैयाँ छ ।
