• २०८१ माघ ९ बुधबार

कोहलपुरमा सङ्घर्ष सँगाती कार्यक्रम सम्पन्न

कोहलपुर,

बाँके र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान आयोजनामा कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम सम्पन्न भएको छ । वैयक्तिक सम्बन्ध, साहित्य, शिक्षा आदि क्षेत्रमा सँगसँगै यात्रा र सङ्घर्ष गरी समाजमा विशेष परिचय बनाएका व्यक्तित्वका अन्तरङ्ग संवादका रूपमा सङ्घर्ष सँगाती कार्यक्रम रहेको छ । पहिलो कार्यक्रममा कोहलपुरमा रही शिक्षा र साहित्यकार क्षेत्रमा सक्रिय महानन्द ढाकाल र सुमित्रा न्यौपानेको अन्तरङ्ग संवाद प्रस्तुत गरियो ।

आफ्नो बाल्यकाल, किशोर वय, विवाह, साहित्य यात्रा र जीवनशैलीका साथै शिक्षण अनुभवलाई ढकाल र न्यौपानेले खुलेर पस्किए । पूर्णिमाको तीन कार्यकाल अध्यक्ष बनेका ढकाल हाल नेपाल प्रज्ञा प्रतिष्ठान सभाका सदस्य छन् भने संस्थाकी पूर्व उपाध्यक्ष न्यौपाने कोहलपुर वाङ्मय प्रतिष्ठानकी हालकी उपाध्यक्ष हुन् । शिक्षण पेसामा संलग्न यो जोडीले स्तरीय साहित्यिक कृतिहरू प्रकाशन गरेका छन् । कार्यक्रममा ६दर्जन बढी साहित्यिक तथा शिक्षा क्षेत्रका व्यक्तिहरू तथा सञ्चारकर्मीहरू उपस्थित थिएँ । सहभागीहरूले निकै नौलो र रोचक रहेको बताए ।

अर्धऔपचारिक किसिमको सो कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष पुष्कर रिजालले सहसङ्घर्षबाट सफलताको बाटोमा लम्केका व्यक्तित्वहरूका अनुभव अरूहरूका लागि पनि प्रेरणा होस् भन्ने हेतुले यस्तो कार्यक्रम ल्याएको बताए । उनले संवादमा रहेका सँगातीहरूलाई माला लगाएर सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए । डेढ घन्टा जति चलेको कार्यक्रमको आरम्भमा संस्थाका सचिव केशव निमेषले छोटो भिडियो मार्फत् व्यक्तित्व परिचय दिएका थिए ।