समाचार

स्वप्नहरू
बादल बनेर बर्सिंदै छन्
रातका अँध्याराहरू
किरण बनेर टल्किँदै छन्
जीवन,
मीठो धुन
गुनगुनाउँदै छ
केही नयाँपन,
भित्रभित्रै पलाउँदै छ
यस्तोमा
यो मन किन नरमाओस् ?
ताराले भरिभराउ आकाश
हरेकतिर चन्दन
छर्छ सास
हिजोजस्तै खडेरी किन नहोस्,
आज धानको बाला
झुल्ने छ आश
दृश्यहरू विभोर छन्
सुगन्धहरू मन चोर्छन्,
यस्तोमा एक शान्त उपवन
आत्माले किन नपाओस् ?
वृक्षहरूमा फूल फुल्छन्,
निराशाले बाटो मोड्छन्
भविष्यका क्षितिजहरू
आकाशदीपझैँ
धप्प बल्छन्
शीतलता बोकी बग्ने खोला
किन नकलकलाओस् ?
जून हाँस्ने रात हो यो
किरण भर्ने प्रातः
जीवनको सङ्घर्षमा
भइरहोस् साथ यो
उषाको लाली पिएर
हरियोपन हेर्न पाऊँ
हलुको लाग्ने मात यो
गरेर माया,
धर्तीलाई आकाशले
दिएको सौगात हो यो
यस्तोमा उडान भर्दै
मुटु किन नगुनगुनाओस् !
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)