समाचार

पुस्तौँ खप्ने घरको साँचो खोस्यो आधीरातमा,
आफ्नै घरमा कसले आगो झोस्यो आधीरातमा !
सपना बाँड्दै विपना ढाल्ने,
माटो उधिनी विषविउ हाल्ने,
मुखतिर दाना पुच्छर बाल्ने,
चोर यही हो ! चोर यही हो !
भन्दै सब तिर कुर्लन थाल्ने,
यौटा चुहिने अर्को टाल्ने,
कत्ति नभुक्ने कुक्कुर पाल्ने,
मस्त नीँदमा दुनियाँ सारा,
ताण्डब गर्दै टोल उचाल्ने,
डरभर रतिभर छैन कसैको,
धुरीमा बस्दै पत्थर फाल्ने !
कसले यस्तो निर्मम पासो थाप्यो आधीरातमा
मुटु नै थर्थर थर्थर सबको काँप्यो आधीरातमा !
पसिना पोखी, रक्त बगाई
जगहालेको यो घरलाई,
भित्ता- भित्ता बलियो पार्दै,
कला- सीपले धप्प सिँगार्दै,
आफू मरे पनि घर यो बाँचोस्,
दुःख खपूँ मैँ, घर यो हाँसोस्,
आँधी- बेहरी जे जति आओस्,
छोड्दिन एक्लै यो घरलाई,
नासो हो यो पूर्वजहरूको,
छोड्नु छ सग्लै सन्ततिलाई,
खनि खोस्रीकन जे जे मिल्ला,
खोले- फँडो खाउन् टन्न,
नहुलूँ घरमा बिटुलो अन्न,
स्वाभिमानमा ठेस नलागोस्,
घरको माया सबमा जागोस्
आशिष शिरमा सब बर्षाई
बिदा भएका पूर्वजलाई
भेट्न कुनैदिन पक्का जान्छौ,
खबर् यहाँको के लैजान्छौ ?
लैजान्छौ उपहार निसानी
घर पोलेको तप्त खरानी ?
कसले यस्तो लज्जित खेला खेल्यो आधीरातमा?
सन्तितिलाई भुसुनाजस्तै पेल्यो आधीरातमा?
(प्रभा भट्टराई आचार्य स्थापित कवि तथा साहित्यकार हुन् ।)
[email protected]