आफ्नै दुःखमा अल्झिएको छु
पीडापीडामा बल्झिएको छु
कसरी सोधौँ खबर तिम्रो
बेखबर–बेखबर छु
दिनहरू रातजस्ता छन्
रातहरू भयानक लाग्छन्
नियतिको चक्रव्यूहमा
निसास्सिएको समय छ
निसास्सिएको छु म
धमिला आँखाहरूले
नखोजेका होइनन् तिम्रो चित्र
पीडाको कोलाहलमा
नसुनेको होइन तिम्रो आवाज
दुखेको हृदयले नसम्झेको होइन
तिम्रा म्वाइका शीतल फूलहरू
अन्योल र पीडाको यो उलझनले
गाउन बिर्सेको हो जीवनका गीतहरू
मौनताको कठोर व्यथामा
दुखिरहेको छु
आत्माविश्वासको आकाश
झर्न खोज्छ
सामथ्र्य खर्चेर यसलाई
थामिरहेको छु
नसम्झेको होइन तिमीलाई
बिर्सेको पो कहिले छु र !
कसरी सोधौँ खबर तिम्रो
म आफैँ ठेगानाविहीन
भएको छु ।
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)