• २०८१ फागुन ६ मङ्गलबार

‘माधवी’उपन्यासको हिन्दी संस्करण बजारमा

काठमाडौँ, मदनमणि दीक्षितले नेपालीमा लेख्नुभएको मदन पुरस्कार प्राप्तविराट उपन्यास ‘माधवी’ को हिन्दी संस्करण प्रकाशनमा आएको छ । रत्नसागर प्रकाशन प्रालिले उपन्यासको हिन्दी संस्करण प्रकाशन गरेको हो । उत्तर वैदिककालीन उपन्यास नाम दिइएको उक्त पुस्तकको अनुवाद किरण मिश्राले गर्नुभएको छ।

पुस्तकको संयोजक जीवराज भट्टराई हुनुहुन्छ भने पुस्तकलाई हिन्दी संस्करणका लागि बीपी कोइराला नेपाल- भारत प्रतिष्ठानले सहयोग गरेको छ। ‘माधवी’ को कथा महाभारतको ग्रन्थ उद्योगपर्व, १०६-१२० को गालव आख्यानबाट लिइएको हो । दीक्षितको पहिलो उपन्यास ‘माधवी’को नेपाली संस्करण सन् १९८३ मा प्रकाशित भएको थियो । त्यही वर्ष पुस्तकले मदन पुरस्कार पाएको थियो ।