हिन्दी–कविता

जब जम्काभेट हुन्छ प्रहरीसँग
र उसको लठी नाच्न थाल्छ
तिम्रो पिठ्यूमाथि
अस्वीकार गरिदिनु- निहुरिनबाट ।
आएर बिच्छी तिम्रा सामुन्ने
जब डस्छ आँखा र कानहरूमा
तिमीले अस्वीकार गरिदिनु
उसको अधीनमा आउनबाट ।
जब संसार घुम्न थाल्छ
यातना- कक्षभित्र
ठाडै अस्वीकार गरिदिनु
तिम्रो मनलाई ओइलिनबाट ।
तिमी सुन्नु केटाकटीहरूको आवाज
अनुभूत गर्नु हाम्रो सङ्गीतको असर
र नाच्न थाल्नु मनमनै
समर्पणको मृत्यु माथि ।
जुन वेला शक्तिशाली मानिसहरू
लुटिरहेका हुनेछन्- तक्मा
र अशक्तहरूले बटुलिरहेका हुनेछन् – कनिका
तिमीले अस्वीकार गरिदिनु
छल-कपटको फुटपाथमा घुँडा टेक्नबाट ।
अनुवाद: राजेन्द्र शलभ