• २०८० जेठ १४ आइतबार

मालिक वा नोकर ?

शिवराज कलौनी

शिवराज कलौनी

बस्तीबस्तीमा जब मालिकका दासहरूको गस्ती हुन्छ
हिजोसम्म गरेको काम बिग्रेर अस्ति हुन्छ
स्वार्थका पनडुब्बीमा पसेका ती गोताखोरहरूलाई
पिसाबको न्यानोले केही दिन त खुब मस्ती हुन्छ ।

मालिकको मूर्ति होस् वा सालिक
शालीन जिन्दगी जवानीभर बन्धकी नेताकै चरणमा
शिर झुकाएर हिँड्नु अनि हाँस्न मन नलागेर पनि हास्नुपर्दा
रक्सी र मासुले जवानीको रगतको तागत छन्जेल
चाकरी गुणगान स्तुति गर्दै चाटुकारितामा मस्त रहँदा
बस्तीबस्तीमा हस्ती निर्माण गर्नुपर्ने नेतृत्वले
नोकर-चाकरसरह अनुयायी र समर्थक मात्र पैदा हुँदा
घृणाको बादल अनि निराशाका लाचार छायाँ
तब हुन्छ मालिक र नोकर को रहेछ भन्ने जागरण

अर्कोलाई समर्थन गर्दा
आफ्नो लागि पनि बोलिदिने आस जीवित राख्दा
चम्चे, झोले, झम्टे र भक्तहरूको स्वाभाविक छटपटी
मालिक बचाउने र आफू ढुक्क हुने हुन्छ
प्रश्न उब्जिन्छ- मालिकलाई कसले बचाउने ?
मालिकलाई न भक्तले बचाउनुपर्छ न त भगवानले
किनभने मालिक स्वयं मालिक हो
मालिकका काम स्वयं मालिकतुल्य हुन्छन्

मालिक विभेद कहिल्यै गर्दैन
न कसैको पक्षमा बोल्छ
न त विपक्षमा
मालिक त पन्ना, मोती, पुखराज मणिभन्दा महँगो हुन्छ
न आफ्नाका लागि ढल्छ
न अर्काका लागि आगोझैँ पोल्छ
असली मालिक नै पछि सालिक बन्छ
जो फिल्मको हिरोझैँ बनाउँछ आफ्नो सान
सुनेर कुरा

असल नेतृत्वले समाजमा सयौँ नयाँ लिडर दिन्छ
सयौँ लिडरबाट सयौँ असल मान्छे निस्किन्छन्
असल व्यक्तिको जमातबाट असल समाज बन्छ
तब त्यहाँ सबै मालिक बन्दछन्
खुसी भई पुनःअसल नेता चयन गर्दछन्
जहाँ विधिको शासन हुन्छ
जनता सर्वशक्तिमान हुन्छन्

पढे लेखेर पनि लिलाम गर्दै आफ्नो अमूल्य जीवन
स्वतन्त्रताको घाँटी रेट्दै पछुताउँदै
स्वाभिमान बेचेर मरेझैँ बाँचिरहेका चाटुकारहरू
मनमा आत्मग्लानिको सुनामी आएपनि
विचारको बाँध टुटाएर आफ्ना
मालिकमै समाहित भैसकेका हुँदा
नेताकै पाउ मल्दै, थाक्दै
पुनः मल्दै, थाक्दै पानी पिउँछन्

प्रसंसा मानिसको नभएर कामको नै हो
यद्यपि सुल्झाउने श्रेय नेतृत्वकर्ताको नै हुन्छ
तर प्रसंसा नहुनुपर्ने ठाउँमा पनि बचावट गर्ने छिछौरे
हुक्के, चम्चेको समय दिन, महिना गर्दै वर्षौं निस्किन्छ
चेत पलाउँदैन- न विद्या,न बुद्धि न चातुर्य
दिएको खायो, अह्राएको गर्यो, सुत्यो, बिउँझ्यो
दिनचर्याको शक्ति सबै भक्तिमा स्वाहा
जुन दिन मालिक रहन्न र यौवन सकिन्छ
छोराछोरी र परिवारको निन्याउरो मुख हेर्छ
कुकुरलाई हाड राखेर झुलाउँदै
बल्छीमा रोपेको चारोसँगै परेको माछा हुत्तिएर
सास फेर्न जब जमिनमा आँउछ
तब ऊ अन्तिम सास लडिरहेको हुन्छ

त्यसैले नयाँ अभ्यास गर्दा के नै बिग्रिन्छ र ?
अरूलाई नेता मान्नैपर्ने त्यस्तो के छ र ?
तपाईं स्वयं नेता बन्दा के बिग्रिन्छ ?
प्रश्न यही हो नेता बन्ने या अनुयायी
स्वयं तपाईं मालिक बन्ने वा दास
तपाईं नेता बन्ने वा नेता मान्ने ?
मालिक बन्ने वा नोकर बन्ने  ?


भीमनगरपालिका, कन्चनपुर निवासी कलौनी चर्चित साहित्यकार हुन् ।
[email protected]