कविता
ललितपुर ।
साझा प्रकाशन ले ‘निर्वाचन ज्ञानकोश’ नामक बृहत् सन्दर्भ ग्रन्थ प्रकाशित गरेको छ । पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित उक्त कृति बजारमा आएको हो । प्रकाशनको छोटो अवधिमै सो पुस्तक उल्लेख्य बिक्री भएको प्रकाशनले जनाएको छ । यसबारे राजनीतिज्ञ, सञ्चारकर्मी तथा निर्वाचन सरोकारवालाबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको साझा प्रकाशनले जनाएको छ ।
करिब ३५ वर्ष निजामती सेवा र ६ वर्ष संवैधानिक निकायको नेतृत्वदायी भूमिकामा रहेका थपलियाको यो पाँचौँ कृति हो । पुस्तकले निर्वाचनका जटिल पक्षलाई सम्बोधन गर्दै लोकतान्त्रिक अभ्यासलाई बुझ्न नयाँ दृष्टिकोण प्रस्तुत गरेको दाबी गरिएको छ ।
पुस्तकमा लोकतन्त्र, निर्वाचन प्रणाली, निर्वाचन न्याय, शासकीय संरचना र प्रतिनिधित्वलगायत विषयका महत्त्वपूर्ण शब्दावली तथा वाक्यांशहरूको विस्तृत परिभाषा र व्याख्या समेटिएको छ । देवनागरी वर्णानुक्रममा आधारित प्रस्तुति रहेको यस ग्रन्थलाई निर्वाचन व्यवस्थापनसम्बन्धी ‘ह्यान्डबुक’का रूपमा उपयोगी बनाइएको प्रकाशनले जनाएको छ ।
नेपालको संविधान र कानुनसँगै अन्तर्राष्ट्रिय निर्वाचन अभ्यासहरूको तुलनात्मक विश्लेषणसमेत पुस्तकमा समावेश गरिएको प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले जानकारी दिए ।
