पुराना कुरा

खास दूरीमा नै
सम्बन्धहरू विशेष लाग्छन् ।
खास दूरीमा छ र त
प्रिय छ घाम,
दूरीको मखमलीमा फक्रन्छ
सुनगाभाको उज्यालो ।
जूनले पाउँछ स्निग्धता,
दृश्यले पाउँछ सार्थकता,
सुशोभित लाग्छन् तरेलीहरू
रमणीय देखिन्छन् हिमश्रृङखलाहरू ।
दूरीले नै परिभाषित गर्छ
सह-अस्तित्व,
र निर्धारण गर्छ
सम्बन्धको अनस्तित्व ।
दूरीकै परिधिले अभिव्यक्त गर्छ
सम्बन्धको चिसोपन वा न्यानोपन ।
अवगुणहरू
निकटतामा उजागर हुन्छन्,
र दूरस्थमा गौण ।
असमझदारीका धर्काहरू
सामिप्यतामा सघन देखिन्छन्
तर दूरताको गहिराइमा पुरिन्छन्
दूरीकै अधिनस्थमा
आकाश शोभायमान हुन्छ,
रंग बदल्दै
ताराहरू
मौन आतसबाजीको नृत्य गर्छन् ।
पदार्थ
निजी स्वरूपमा अस्तित्वमान हुन्छ ।
दूरीकै विशेषताले
गतिमान छ परमाणु,
विलुप्त वा दृष्टिगोचर हुन्छ पिण्ड,
सन्तुलित छ अखिल ब्रह्माण्ड ।
सृष्टिको मौन साक्षी बनेर
कोमलताको जून छरिरहन्छ चन्द्रमा ।
सम्बन्धको गाम्भीर्यता
दूरीकै सन्तुलनले निर्धारण गर्छ ।
दूरीकै कारण
सत्य निर्मम रूपमा प्रकट हुन्छ,
कठोरता र कोमलता
एक-अर्कामा रूपान्तरित हुन्छन् ।
दूरीका तरङ्गहरूले
प्रिय बनाउँछन् संझनाहरूलाई,
र अधिक फैलावले
असमझदारीहरूलाई
विस्मृतिको गर्भमा लुकाउँछन् ।
निकटताले मात्र फक्रन सक्दैन
सम्बन्धको माधुर्यता ।
दूरीकै सन्तुलनले सुनिश्चित गर्छ
सम्बन्धको सार ।
गुलाफको फूल पनि हैरान हुन्छ
आफ्नै काँडाले घोचेर
तर पनि,
निरन्तर मुस्कानको वृष्टि गरिरहन्छ ।
दीपक चौलागाईं