समाचार
काठमाडौँ ।
कवि रामेश्वरी पन्तको कवितासङ्ग्रह ‘समयको कठघराबाट एक स्त्रीको बयान’ तुलसी–चन्द्र स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने तुलसी–चन्द्र पुरस्कार–२०८२ बाट सम्मानित भएको छ ।
तुलसीचन्द्र स्मृति प्रतिष्ठान (स्था. २०७२) को नवौँ पुरस्कार वितरण तथा सम्मान कार्यक्रम पुस १३ गते वाल्मीकि विद्यापीठको सभाकक्षमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम पूर्व सचिव युवराज पाण्डेको अध्यक्षता तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एवं पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रतिष्ठानका सचिव एवं पुरस्कारका संस्थापक हेमराज पाण्डेले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो भने सम्मानित प्रतिभा तथा कृतिबारे कवि प्रह्लाद पोखरेलले प्रकाश पार्नुभएको थियो। सो अवसरमा कृष्णप्रसाद पन्थी सम्मानित हुनुभयो भने कवि रामेश्वरी पन्तलाई ‘समयको कठघराबाट एक स्त्रीको बयान’ कवितासङ्ग्रहका लागि तुलसी–चन्द्र पुरस्कार प्रदान गरिएको हो ।
प्रमुख अतिथि पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले सम्मान तथा पुरस्कार प्रदान गर्दै साहित्यले समाजका सूक्ष्म यथार्थ र संवेदनालाई उजागर गर्ने भूमिका खेल्ने उल्लेख गर्नुभयो । कार्यक्रममा साहित्यकार, प्राज्ञ तथा साहित्यानुरागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
