English Poem
काठमाडौं ।
लेखक साहित्यकार भीम राना ‘जिज्ञासु’को दोस्रो लघुकथाकृति ‘अर्थात् ऊ’ एक कार्यक्रमबीच लोकार्पित भएको छ । यसअघि उनका विभिन्न विधाका गरी आठ पुस्तक प्रकाशित छन् ।
लघुकथा समाज, नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृति सार्वजनिक गर्दै समाजका संस्थापक अध्यक्ष तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृतिकार रानाले ४० को दशकदेखि नै लेख्दै आएको बताए । पत्रपत्रिकामा निरन्तर लेखिरहे पनि रानाले कृति प्रकाशनमा कहिल्यै हतार नगरेको उल्लेख गर्दै श्रीओमले भने, “राम्रो लेख्नुपर्छ, बीचमा देखिएको अन्तर आफैँ मेटिएर जान्छ ।” साहित्यकार ‘रोदन’ले आजको समयमा साहित्यमा निकै विकृति मौलाएको चर्चा गरे ।
कृतिका सम्पादक साहित्यकार विमल भौकाजीले कृतिकार रानाको लेखन यात्राको चर्चा गर्दै एउटा राम्रो कृति पाठकलाई दिएको बताए । कृतिकार रानाले यो लघुकथाकृति आउनुको सन्दर्भ चर्चा गर्दै अब साहित्यमा निरन्तर लाग्ने बताए । प्रकाशन संस्थाका तर्फबाट केशव पराजुलीले राना फेरि साहित्य लेखनमा फर्किएकोमा खुसी व्यक्त गरे ।
समाजका अध्यक्ष तुलसीहरि कोइरालाले रानाका अन्य कृतिहरू पनि पाठक माझ आउने विश्वास व्यक्त गरे । उक्तअवसरमा सर्जकहरू श्रीबाबु कार्की, छविरमण सिलवाल, सुमन थापा संगमले कृतिभित्रका लघुकथा वाचन गरे ।
पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
