• २०८१ असोज २४ बिहीबार

मेरो म

सानु शर्मा

डियर बिरानो !

आज पुस्तक मेलामा तिमीलाई झुलुक्क आफ्नै अघिल्तिर देख्दा मुटु तिब्रगतिमा दौडियो । देख्न त तिमीले पनि देख्यौ क्यार, तर नदेखेजस्तो गर्यौ । ठीकै गर्यौ। तिमीले नदेखेकोजस्तो गर्दा त दौड्ने यो मुटु, नदेखेको जस्तो नगरी मसँग बोल्न आएको भए त शरीरबाट अलग भएर बुर्कुसी माथ्र्यो होला । हुन त तिम्रो र मेरो बीचमा त्यस्तो भावनात्मक तालमेल कहिल्यै हुनसकेन, जसले एक झलक देखेकै भरमा मुटुलाई गति दिन सकोस् तर पनि किन–किन मेरो एक्लो मुटु हल्लिरह्यो निक्कै बेर । बिनाकारण !

दुब्लाएछौ ! राम्रो हो स्वास्थ्यका लागि । तर मन निन्याउरो भयो, तिम्रो गालामा पहाडझैँ उठेको हड्डी देखेर । लगाएको सर्ट, कोट पनि मैलोमैलो देखेँ । जुत्ता पनि पहिलेका जसरी टलक्क टल्केका थिएनन् । मन एकतमासको भयो । सबै कुराले भरिपूर्ण परिवारका तिमी– मैले तिम्रो त्यो उदासीनताको कारण बुझ्न सकिन । जेसुकै भए पनि तिमीलाई त्यो रूपमा देख्ने कल्पना कहिल्यै गरेको थिइनँ मैले । सायद त्यसैले पो मेरो मुटु त्यस्तरी छट्पटाएको हो कि ? त्यतिखेर मलाई तिमी निक्कै याद आयौ, जब जुत्ता टिलिक्क नहुँदा, लुगा सफा र त्यसमा आइरनको धार नहुँदा तिमी मलाई– ‘बाउको घरमा कहिल्यै देखेको, कहिल्यै गरेको भए पो ढङ्ग पुग्छ’ भनेर हपाथ्र्यौ । किन कि तिम्रो खानपान र अरू आवश्यक कामकुराको जिम्मेवारी तिम्री आमाले मेरो जिम्ममा लगाउनुभएको थियो– हाम्रो बिहे भएको केही दिन पछिदेखि नै । तिम्री आमाको अभिप्राय हुँदो हो– छोरालाई मसँग नजिक्याउने । तर तिमी त मानौँ किरिया खाएर बसेका थियौ मसँग ननजिकिने ! त्यसैले त खोट निकालिरहन्थ्यौ मैले गरेका प्रायजसो काममा । मेरो व्यक्तित्वमा ! हुन पनि हो, कहाँ तिमी व्यापारिक घरानाको, म गरिब किसान परिवारको ! हाम्रो मेल कतैबाट सुहाउँदैनथ्यो तर के गर्नु ? प्रारब्धमा त्यही थियो । भयो । तिमी र म एकसाथ बाँधियौँ । त्यो बन्धनलाई तिमीले नस्वीकारे पनि मैले मनले स्वीकारेको थिएँ । सत्य !

किन–किन तिमीसँगै हुँदा कहिल्यै भन्न नसकेको कुरा आज भनूँ लाग्दैछ ! लाग्दैछ, जसरी तिमीले आफ्नो मन पराइ र नपराइ र मप्रतिको अरुचि प्रस्ट भन्न सक्यौ त्यतिखेर– त्यसरी नै म पनि ढिलै सही, तिमीप्रतिको आफ्नो सोच तिमीलाई भनिदिऊँ !

जसरी तिमीले मसँग सम्बन्ध गाँस्न चाहेका थिएनौ नि, हो त्यसरी नै म पनि विरोधी थिएँ हाम्रो सम्बन्धको । फरक यत्ति थियो– तिमीले जस्तै मुख फोरेर मैले कहिल्यै केही भनिनँ । तिमीले सात वर्ष लामो उपेक्षा देखाइरह्यौ मप्रति– त्यो जबरजस्तीको सम्बन्धको साटोमा । तर मैले ज्यान दिएर त्यो सम्बन्ध बचाउने कोसिस गरिरहेँ । थाहा छ किन ? कारण यो कदापि थिएन कि म तिम्रो व्यक्तित्व र सम्पत्तिको थुप्रोसँग प्रभावित थिएँ । कारण त यति नै थियो–हामी छोरीमान्छेलाई जन्मैदेखि घरलाई मन्दिर र लोग्नेलाई देउता मानेर पुज्ने शिक्षा दिइएको हुन्छ । जतिसुकै बराबरी र समान हकको कुरा गरे पनि व्यवहारमा लोग्ने र लोग्नेको परिवारसँग दब्न हामीलाई अरू दुनियाँदारीभन्दा पहिल्यै सिकाइन्छ । हाम्रो जीवनको पहिलो प्राथमिकतामा पर्दछन् ती कुरा । त्यसैले त मैले तिमीलाई कहिल्यै भन्न सकिनँ– तिमी मेरो रोजाइमा कहिल्यै परेनौ । पहिलै दिनदेखि ।

नजिकका नातागोतामा कसलाई थाहा थिएन र तल्लो जातकी मानिएकी ती डाक्टरसँगको तिम्रो सम्बन्ध थाहा पाएपछि नै तिम्री आमाद्वारा चुनिएकी थिएँ म, तिम्रो त्यो सम्बन्ध चुडाल्न । सायद त्यसैले पो तिमीले मसँग त्यति धेरै घृणा गर्यौ कि ? तर त्यसमा मेरो के दोष थियो भन त ? त्यो मेरो इच्छा र रोजाइ थिएन भन्ने थाहा हुँदाहुँदै पनि तिमीले मसँग गरेका व्यवहारहरूप्रति तिमीलाई कहिल्यै पश्चात्ताप लागेन, ग्लानि अनुभव भएन भने यो मेल लेखेर म तिम्रो र आफ्नो समय खेर फाल्दैछु, थाहा छ मलाई ।

त्यतिखेर तिम्री आमालाई एउटी सिधीसाधी, ठीकठाक पढेलेखेकी, छोराको साथमा उभिँदा दुईचार जनाले प्रशंसा गरिदिने बुहारी चाहिएको थियो । त्यो पनि एकदमै सीमित समयमा !

म गाउँको चामल–दाल खाएर अभाव र अप्ठ्याराहरूसँग जुध्दै सहरमा एलएलबी पढिरहेकी केटी, जसमा तिम्री आमाले बुहारीको लागि खोजेको योग्यता केही हदसम्म मिल्थ्यो । त्यसैले चिनजानको कसैले तिम्री आमालाई सुनाइदिएछ, मेरा बारेमा ।

हाम्रै गाउँबाट सहर छिरेर आफ्नो हैसियत साधारणबाट अति सम्पन्न बनाएका तिमीहरूको परिवारमा छोरी दिने कल्पना नै असुविधाजनक नलागेको होइन हाम्रो परिवारलाई पनि तर मेरो बुवालाई तिम्री आमामाथि नभए पनि आफ्नी एलएलबी पढिरहेकी सुयोग्य, सुन्दर छोरीमाथि भरोसा थियो सायद, पक्कै पनि छोरीले तिम्रो मन जित्नेछ भनेर । तिमीलाई आफ्नो जीवन र तिम्रो महललाई आफ्नो घर बनाउन सफल हुनेछु भन्ने कुरामा पूर्ण विश्वास थियो उहाँलाई । मेरो बुवाको त्यो विश्वास सार्थक पनि हुने थियो सायद, तिम्रो जिन्दगीमा मसँग दाँजेर हेर्नका लागि तिम्री प्रेमिका नभएकी भए ।

तिमी मान–नमान तर स्वास्नी हुनु र प्रेमिका हुनुमा आकाश र धरतीको फरक छ । किनभने चौबीस घन्टामा केवल केही घन्टा मात्र तिमी तिम्री प्रेमिकासँग बिताउँछौ । बाँकी समय स्वास्नीसँग । यस बाँकीको समयमा, स्वास्नीको साथमा भएका बेला तिमी हरेक कुरामा स्वास्नीको तुलना प्रेमिकासँग गरिरहेका हुन्छौ– जानेर वा नजानेर । तुलना गर्दा तिमीलाई भेट्न आउँदा चिटिक्क परेर, पफ्र्युमको सुगन्धमा डुबेर आएकी प्रेमिका पक्कै पनि मन लोभ्याउने खालकी सुन्दर लाग्छे । बिहान र साँझका कैयौँ घन्टा भान्सामा बिताएर लसुन–प्याजको गन्धमा लटपटिएर, भताभुङ्ग स्वरूपमा तिम्रो अगाडि तिम्रो मनपर्ने स्वादिष्ट खाना पस्कने तिम्री स्वास्नीको तुलनामा । त्यसमाथि मनले रोजेको मान्छेको तुलनामा आमाले रोजेको मान्छेको महत्त्व त यसै कम भैहाल्छ !

तर हामीले भने यही सिकेका हुन्छौँ– लोग्ने आफूले रोजेको होस्, नहोस् । मन परेको होस्, नहोस् । उसले मन पराओस्, नपराओस् । माया गरोस्, नगरोस्, हामीले लोग्नेलाई माया गर्नैपर्छ । आदर–सम्मान गर्नुपर्छ ।

भागवत पुराणादिमा समेत बारम्बार वर्णन गरिएका यी कुराहरू व्यवहारमा उतार्न ठूलै कसरत गर्नुपर्यो मैले । लामै समय लगाएर भए पनि मैले यी कुरालाई व्यवहारमा उतारेँ । त्यसैले त मान्छेको रूपमा तिमीमा कुनै खुबी नभेटे पनि, मन नपराए पनि लोग्नेको रूपमा तिमीलाई मन पराएँ । माया गरेँ । मन नपराएर, घृणा गरेर जिन्दगी साथमा बित्दैन भन्ने जति सोच्न सक्ने उमेर जो भैसकेको थियो मेरो, त्यसैले आफ्नै सजिलोका लागि भए पनि तिमीलाई अपनाएँ । फेरि तिमीले मलाई गरेजस्तै घृणा गरिरहन मसँग अर्को कुनै बहाना पनि त थिएन ! तर सोच त ! तिमीले मसँग गरेझैं मैले पनि तिमीसँग घृणा गरेकी भए हाम्रो सम्बन्ध सात वर्ष होइन सात दिन पनि टिक्ने थिएन । त्यसैले यो मनलाई निमोठीनिमोठी तिमीलाई मन पराउन, माया गर्न बाध्य गरेँ । अगाडि पढ्ने रहर छोडिदिएँ । साहित्य लेख्ने सबैभन्दा प्रिय सोख बिर्सिदिएँ । काम गर्न छोडिदिएँ । सपना देख्न छोडिदिएँ । आफ्नो मनपराइ–नपराइको ख्याल गर्न छोडिदिएँ । ठूलो महत्त्वाकाङ्क्षा बोकेर गाउँबाट सहर पसेकी म तिम्रो सामु हात बाँधेर यसरी उभिइरहेँ– मानौँ तिमीलाई राजीखुसी राख्नुभन्दा महत्त्वपूर्ण मेरो जीवनमा अरू केही छँदैछैन । तर पनि तिम्रो मन जित्न सकिनँ । हुन त मजस्तो कानुन पढेकी विद्यार्थीले यी सबै कुरा गरिरहँदा मानिसलाई लाग्ला– वाइहात ! त्यति नै चित्त नबुझेको भए छोडेर किन नहिँडेको त ? आफ्नो अधिकारका लागि किन नलडेको त ? तर कानुनको विद्यार्थी भएकैले मलाई थाहा छ– मुखले भनेजस्तै गरेर देखाउन गाह्रो छ । गाह्रो छ, त्यसैले हामी जस्ताको त रिपोर्ट लेख्न मान्दैनन् चौकीमा पुलिसहरू । अदालत, मुद्दा मामिला र न्याय त धेरैपरको कुरा । निम्छरोको त बलात्कार भयो भने पनि सवल पक्षसँग पैसा खाएर पुलिस, प्रशासन र नेताहरूले नै मिलापत्र गर्न बाध्य बनाउँछन् । अदालतको मुख देख्न पाएका कैयौं मुद्दामामिला पालो कुरेर वषौँ त्यहीँ थन्किन्छन् । यस्तोमा मलाई कसले पार लगाउँथ्यो ? त्यो पनि तिम्रो पैसा र पावरको विशाल आकाशमुनि !

आज तिमीलाई देखेपछि विगतका धेरै कुरा याद आए मलाई ।

तीन वर्षपछि देखेकी थिएँ मैले तिमीलाई । एक मन त लाग्यो– आफैँ अघिसरेर तिमीलाई धन्यवाद भनेर आऊँ, तर तिम्रो हालत देखेर कदमले अघि बढ्नै मानेनन् । तिमीलाई लाग्ला– मैले तिम्रो खिल्ली उड़ाएँ । तर त्यसो हुँदैहोइन । म साँच्चै नै आभारी छु तिम्रो र तिम्री आमाको । किनभने निम्न मध्यवर्गीय परिवारमा जन्मिएर हुर्किबढेकी मेरो कल्पनामा पढे–लेखेर, लायक भएर यौटा भद्रभलाद्मीसँग बिहे गरेर बेलैमा व्यवस्थित हुने सपानाबाहेक अरू केही थिएन । मानौँ यो पढ्नु, लेख्नु, लायक हुनु मात्र यौटा लोग्ने पाउनका लागि थियो । मेरो आफ्नो व्यक्तित्व विकासको, आत्मनिर्भरता र ज्ञान प्राप्तिका लागि छँदैथिएन । आफ्नो जीवनका अमूल्य सात वर्ष खर्च गर्नुपर्यो मैले यो पाठ सिक्न– म यौटा अलग, छुट्टै अस्तित्व हुँ । लोग्नेले जतिसुकै माया गरे पनि, या माया नै नगरे पनि उसको परिवारले स्विकारे पनि, नस्विकारे पनि म ‘म’ हुँ । मेरो ‘म’ हुनु मबाट विलय हुनैसक्दैन, चाहे म मेरो लोग्ने र उसको परिवारमा आफूलाई किस्ताकिस्तामा बाँडेर किन नसकौँ !

याद छ तिमीलाई ? कति रूवाबासी गरेकी थिएँ मैले– तिमीले पारपाचुकेको कुरा मात्रै उठाएपछि ! बुवा आमा त झन्डै बहुलाउनु भएको थियो । उहाँहरूलाई मेरो के होला भन्दा पनि आफू बसेको समाजले के भन्ला भन्ने सुर्ता धेरै थियो । जाबो यौटा कागजमा गरेको हस्ताक्षरले जिन्दगीमा पूर्णविराम लगाइदिन्छ, यौटा जबरजस्ती मन पाराइएकी, माया गरेको मान्छे जिन्दगीबाट कम हुनासाथ जीवन सकिन्छ भन्ने सोच भएकी मजस्ती पढेलेखेकी भनी टोपलिएकी स्वास्नीमान्छेले त आत्महत्याको बाटो समात्ने सोच बनाएकी थिएँ भने बुवाआमाको त के कुरा ?

आफ्नी प्रेमिकासँग रात बिताएर उसको शरीरको, उसको पफ्र्युमको गन्धमा सरोबर भएर घर आउने तिमीले मुख फोरर केही नभने पनि बिहे गरेको केही दिनमै मलाई तिम्रो घरबाहिरको सम्बन्धको बारेमा थाहा भैसकेको थियो । थाहा त तिम्री आमालाई पनि थियो नि तर सायद उहाँ तिमीलाई मसँग बाँधिदिएर ढुक्क हुनुभएका थियो– बाहिर जेजे गरे पनि छोरो फर्केर त घरै आउँछ ! म सोच्थेँ– आफ्नो सद्भाव, समर्पण र साथले तिमीलाई जितेर आफ्नो बनाउँछु । कति गलत म ? मन र शरीरले अर्काको भैसकेको मान्छेलाई म कसरी आफ्नो बनाउन सक्थेँ ? त्योभन्दा पनि ठूलो कुरा, अर्कैसँग बाँडिएका तिमी र तिम्रो मनलाई जबरजस्ती जितेर कुन जितको अनुभूति गर्थें होला म ? अहिले सोच्दा पनि कहाली लाग्छ !

तिमीले तिम्री आमा र म– हामी दुबैको सोच गलत सावित गरिदियौ । सात वर्षपछि नै सही– तिमीले आफ्नी आमाको विरूद्ध जाने हिम्मत देखायौ । मेरो सद्भाव, साथ र मायालाई त पत्कर बराबर मानेनौ, मानेनौ– मेरो जीवनका ती सुनौला सात वर्षलाई पनि कुनै खातिरमा ल्याएनौ । सत्य रहेछ– स्वास्नीमान्छेले चाहे लोग्नेको घर, परिवार र इष्टमित्रलाई मात्र होइन, उसको घरमा काम गर्ने– यहाँसम्म कि उसको घरमा पालिएको कुकुरलाई समेत आफ्नो बनाउँछ । यौटा लोग्ने उसको भएन भने सबै ब्यर्थ !

तिम्री आमाले त तिमीलाई बिहे गरेर बाहिरै राख्नसुद्ध अनुमति दिनुभएको थियो, मलाई नछोड्ने सर्तमा । तर तिमीलाई त्यो पनि मञ्जुर थिएन । तिमीलाई त कसैगरी मलाई आफ्नो जिन्दगीबाट पाखा लाउनै थियो । त्यसैले यसपटक तिमीले आफ्नी आमाको कुरा पनि सुनेनौ । खासमा त म तिमीलाई यही कुराका लागि धन्यवाद भन्न चाहन्छु । के थाहा ? तिमीले आफ्नी आमाको कुरा मानेको भए मेरो जिन्दगीमा तिमी नभए पनि म आज पनि तिम्रो घरमा, तिम्रो नामको सिन्दुर–पोते लगाएर तिम्रो आमाको सेवासुसार र खटनपटनमा खटिइरहेको हुन्थेँ कि ? तिम्रा इष्टमित्र र समाजको आँखामा ‘बिचरी’ भएर !

यौटा कागजको चिर्कटो थमाएर तिमीले आफ्नो जिन्दगी र घरबाट मलाई निकाल्दा बहुलाउन ठिक्क परेका मेरा बाउ–आमा हुन्थेनन् मेरो जीवनमा भने म कदापि बाँचिरहने हिम्मत जुटाउन सक्थिनँ होला ।

‘सात सात वर्ष साथमा राखेकै त थियो, अब के गरोस् त बिचराले– यत्रा वर्षमा यौटा सन्तानको अनुहार पनि देखाइदिन नसक्ने स्वास्नी पाखा नलाएर ?’ भन्ने आफन्त र समाजलाई के जवाफ दिनसक्थेँ म– आफ्नै बाउ–आमाको अनुहारमा त्यही प्रश्न छापिएको देखेपछि ? कसरी भन्थेँ– नचाहिएकी स्वास्नीको गर्भबाट सन्तान नजन्मियोस् भनेर कति सतर्क रहन्थ्यौ तिमी भनेर ! जब कि त्यही नचाहिएकी स्वास्नीसँग सुत्न कुनै परहेज थिएन तिमीलाई । आज सोचेर उदेक मान्छु– तिम्री प्रेमिकालाई हाम्रो सम्बन्धको बारेमा के र कति थाहा थियो कुन्नि ? म त तिम्री स्वास्नी थिएँ, त्यसैले तिम्रो घरबाहिरको सम्बन्धलाई मन मारेर स्वीकारेको थिएँ । उसले किन र कसरी स्वीकारेकी थिई, मैले बुझ्न सकिनँ । या त तिमीले उसलाई हाम्रो सम्बन्ध शरीरको सीमासम्म पुगेकै छैन भनेर पो सम्झाएका थियौ कि ?

एकपटक लडेर नराम्ररी घाइते भएको, चोट खाएको मान्छे उठेर नहिँड्दासम्म उसलाई त्यो गर्नसक्छु भन्ने आत्मविश्वास हुँदैन । म त झन् तिमीद्वारा लडाइएकी थिएँ । भावनात्मकरुपमा अपाहिज भएकी थिएँ । आफन्त र समाजसँग मेरा लागि सहानुभूति त थिएन, सहारा र सद्भाव त परै जाओस् । आमा–बुवा बुढ्यौलीतिर अग्रसर थिए । म उनीहरूको एक्लो सहारा थिएँ । मैले नउठी धरै पाइनँ । तर त्यो लड्नु र उठेर आफ्नो खुट्टामा उभिनुबीचको यात्रा बडो भयावह थियो मेरा लागि ।

रहेसहेको जुन अहम, आत्मविश्वास मभित्र बाँकी थियो, त्यसैको प्रोत्साहनमा तिमीले पारपाचुकेको बदलामा दिन्छु भनेको सात लाख ‘लिन्न’ भनेर हिँडेकी म अन्त कतैबाट कुनै सहारा नभेटेपछि आफैँलाई कुल्चँदै तिम्रो अफिस पुगेकी थिएँ– त्यही सात लाख माग्न । याद छ तिमीलाई ? कति तिरस्कार र अपमानपूर्वक तिमीले त्यो सात लाखको चेक मतिर हुत्याएका थियौ ? त्यो दिन मसँग एक शब्द नबोली मतिर चेक फ्याँकेर बाहिर निस्केको तिमीलाई देखेपछि नै हो, मलाई अपमानको अनूभूति भएको । सात वर्ष, सिङ्गै सात वर्ष, तिम्रो लुगामा टाँसिएर तिमीसँगै घर आइपुग्ने तिम्री प्रेमिकाको कपालको रौँ केलाएर, तिम्रो शरीरबाट आउने उसको अत्तरको बासनाले घिनाएर तिमीसँग सुत्दा पनि मैले आफूलाई त्यति अपमानित कहिल्यै अनूभूत गरेको थिइनँ ।

त्यहीबेला मैले अठोट गरेकी थिएँ– यो पैसा मैले कसै गरी तिमीलाई फिर्ता दिनैछ– ब्याजसमेत ।

त्यसपछि मैले पछाडि फर्केर हेरिनँ । त्यो सात लाख कमाएर तिमीलाई फिर्ता दिने धुनमा लागिपरेकी म आज छ वर्षपछि त्यस ठाउँमा छु, जहाँको मैले कहिल्यै सपना पनि देखिनँ । परिवार र समाजले देखाएको यौटा लायक लोग्ने कमाउने सपना आँखामा बोकेर सहर बसेर एलएलबीसम्मको पढाइ गरेकी म आज यौटा सम्मानित वकिल छु । तिम्रो सात लाखको चेकमा तीन लाख थपेर तिम्रो अफिसमा, तिम्रै हातमा राखेर, तिमीलाई धन्यवाद भनेर गर्वले टाउको उचालेर निस्किएको पनि तीन वर्ष बितिसकेछ ।

आज मेरो मनमा तिमीप्रति कुनै बैरभाव छैन । कुनै गुनासो छैन । सम्बन्ध जब मनले स्वीकार्दैन तब, जीवनसँग जबरजस्ती बाँधिनुले कसैको भलो हुँदैन भन्ने कुरा मैले हिजो नबुझे पनि आज बुझेकी छु । त्यसमाथि तिमीले मलाई त्यसरी आफ्नो जीवनबाटनधकालेको  भए म आज यस स्थानमा कदापि हुन्थिनँ– यो म कहिल्यै बिर्सने छैन ।

तिम्रो घरमा तिम्री स्वास्नी, तिम्री आमाकी बुहारी, तिम्री भान्से, प्रबन्धक, सेविका हुँदाहुँदै म ‘म’ हुनै पाउँदिनथेँ । तर आज जे छु– म नै म छु । अगाडि पढ्दैछु । काम गर्दैछु । मैले लेखेका उपन्यास र कविताले अनेकौँ सम्मान र पुरस्कार पाएका छन् । मेरो लेखाइको चर्चा र प्रशंसा यत्रतत्र चलिरहेको छ । यी सबैका लागि म तिम्रो आभारी छु । सधैँ रहने पनि छु । तिमीले मेरो अस्तित्वलाई त्यसरी न नकारेको भए म आज पनि शिर झुकाएर तिम्रो सामु उभिएकी हुन्थेँ– तिम्रो एक नजर र अलिकति समीप्यको आशमा । धन्यवाद ! मलाई आफ्नो अस्तित्वको लडाइँ लडेर जित्ने उद्देश्य र ऊर्जा दिएकोमा । हो त, लड्दैनलडे कसरी उठ्ने ? तिमीले लडायौ र त म आज उभिन सक्षम छु । तर एउटा कुराको अफसोच भने सधैँ लाग्छ– हामी स्वास्नीमानिस किन अरूले नलडाइदिएसम्म उठ्न, उठेर अघि बढ्न प्रयत्न गर्दैनौँ ? किन ?
तिम्री हुननसकेकी