वसन्त–वेला
काठमाडौं ।
प्रसिद्ध सङ्गीतकार न्ह्यू बज्राचार्यको साङ्गीतिक यात्रा झल्काउने ‘पलेँटी’ कार्यक्रम कालिकास्थानस्थित नेपालयको ‘आर’ सालामा सम्पन्न भएको छ। झण्डै दुई घण्टा लामो यस साङ्गीतिक कार्यक्रममा न्ह्यू बज्राचार्यले आफैं गिटार बजाउँदै दर्जनभन्दा बढी लोकप्रिय गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवात न्ह्यू बज्राचार्यकै गायनबाट भएको थियो। गिटारको मधुर धुनमा उहाँले दिवंगत गायिका लासमित राईको सम्झनामा ‘नआऊ सपनाभरि’ गीत प्रस्तुत गर्दा माहोल भावुक बनेको थियो। त्यसपछि उहाँले गीतकार दिनेश अधिकारीसँगको भेट र त्यसबाट जन्मिएको ‘अघिअघि जिन्दगी’ प्रस्तुत गर्नुभयो। कवि तथा गीतकार विप्लब प्रतीकको काव्य रचना ‘एउटी सानी परी’ लगायतका गीतहरूले पलेँटीमा काव्यात्मक र संगीतात्मक मिठास थपेका थिए ।
कार्यक्रम दुई चरणमा विभाजित थियो। दोस्रो चरणमा गायिका बानिका प्रधानले अरुणा लामाको स्वरमा प्रसिद्ध भएको ‘यो मन त तलाउ हो’ गीत सुरिलो स्वरमा प्रस्तुत गर्नुभएको थियो । त्यसपछि ‘तिमी बाहेक’, ‘खाटा बसेछ’, ‘ए ऐना’, ‘छाएछ बसन्त’ जस्ता गीतहरू पनि उहाँले गाउनुभयो । यी सबै गीतहरूमा न्ह्यू बज्राचार्यको सङ्गीत रहेको थियो । न्ह्यूका धुनमा दुर्गालाल श्रेष्ठ, बसन्त चौधरी, मञ्जु लामा, भूषण खरेल, गोपाल प्याकुरेल, मदनकृष्ण श्रेष्ठ, क्षेत्रप्रताप अधिकारी र सुरेश स्थापित जस्ता चर्चित स्रष्टाहरूका शब्द समावेश थिए। यसपटक उहाँले आफैंले लेखेका केही गीतहरू पनि प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वाद्यवादन कीबोर्डमा दिनेश रेग्मी, तबलामा सम्भु बानियाँ, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारसमणि सुबेदी, गिटारमा लुमन स्थापित, र बेस गिटारमा सुदीप खत्री सहभागी हुनुहुन्थ्यो । गायक शेषनारायणले कार्यक्रमपछि प्रतिक्रिया दिँदै भन्नुभयो, “न्ह्यूका गीतलाई पलेँटीमा कस्तो प्याकेजिङ होला भन्ने लागेको थियो, तर यो साँझले त्यो जिज्ञासा मात्र मेटेन, अत्यन्त सशक्त प्रस्तुति दियो।” कवि तथा गीतकार विप्लब प्रतीकले कार्यक्रमको सञ्चालन गर्दै भन्नुभयो, “न्ह्यूको सङ्गीत त सुन्दर छँदैछ, उनको सेन्स अफ ह्युमरले पनि कार्यक्रम झनै रोचक बनायो।”
नेपालयका अनुसार आगामी पलेँटीमा नेपाल भाषा र नेपाली सङ्गीतमा लामो समयदेखि सक्रिय सङ्गीतकार तथा गायक रामकृष्ण दुवाललाई प्रस्तुत गरिनेछ। उक्त कार्यक्रम साउन अन्तिम शुक्रबार र शनिबार ‘आर’ सालामै आयोजना हुनेछ भने टिकेट paleti.com.np मार्फत अनलाइनमा उपलब्ध छ ।
