• २०८१ फागुन ६ मङ्गलबार

कसरी मानौँ मौसम फेरियो

बसन्त चौधरी

बसन्त चौधरी

साँच्चै फेरियो त मौसम ?
रूखहरू हरिया भए,
कि फूलहरू फक्रिए,
सपनाहरू रङ्गिए,
कि खुसीहरू बर्सिए ?
तिमी नआई
कसरी मौसम फेरियो ?

तिम्रो अनुपस्थितिले
जीवन अल्झोमा बेरिएको छ
हरपल मुटुभित्र बस्छु भन्ने
तिम्रो वाचाले,
प्रतीक्षाको आँगन बनेको छ मुटु
तिम्रो प्रतीक्षामा
अझै खाली छ मुटुको आँगन ।
तिमीलाई हेर्ने आँखाहरूलाई
म औधी माया गर्छु,
तिमीलाई सम्झिने मनलाई पनि
तिम्रै नासो सम्झेर माया गर्छु,
तर, शून्य छ यो मेरो मन
जति सम्झिए पनि तिमी आइनौ
तिमीविना जिन्दगी रिक्ततामा घेरियो
अनि कसरी मानौँ, कि मौसम फेरियो ?

साभार: मेघा (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)