मुक्तक
नेपालगन्ज ।
कविता हुँदै कथा लेखनमा सक्रिय कथाकार नवीन अभिलाषी ‘सनत रचना कथा सम्मान २०८२’ बाट सम्मानित भएका छन् । मध्यपश्चिम स्रष्टा समाजले २०८२ सालमा प्रकाशित उनको कथासङ्ग्रह ‘दहाड’ का लागि उक्त सम्मान प्रदान गरेको हो । नेपालगन्जमा आयोजित समारोहमा वरिष्ठ साहित्यकार तथा सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ र सम्मानका संस्थापक तथा वरिष्ठ कथाकार सनत रेग्मीले अभिलाषीलाई नगद ११ हजार १११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।
सम्मानका लागि आह्वान गरिएअनुसार प्राप्त कथासङ्ग्रहमध्ये वरिष्ठ साहित्यकार तथा सम्पादक गोपाल अश्कको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले ‘दहाड’लाई सम्मानका लागि छनोट गरेको कार्यक्रममा जानकारी दिइयो । मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बीपी अस्तुले नेपाली समाजको इतिहास र वर्तमानका कटु यथार्थ, बहुआयामिक असमानताबाट उत्पन्न विडम्बना तथा सामाजिक संरचनाको पिँधमा रहेका समुदायको अलिखित सङ्घर्षलाई ‘दहाड’ले कथाको केन्द्रमा राखेको बताए ।
कथासङ्ग्रहमाथि समीक्षकीय टिप्पणी गर्दै समीक्षक भागवत पौडेलले ‘दहाड’मा न्यायको मुद्दा केन्द्रमा रहेको र त्यो न्याय कसले दिने भन्ने प्रश्न कथाहरूले पाठकसमक्ष छाडेको बताए । विभिन्न तहका विभेद र असमानताबाट अन्यायमा परेका मानिसका कथा लेखेर कथाकारले समाजसामु महत्वपूर्ण प्रश्नहरू उठाएको उनको भनाइ थियो । सम्मान ग्रहण गर्दै कथाकार अभिलाषीले समाजमा विभेदका अनेक तह रहेको थाहा पाएदेखि नै साहित्यको अध्ययन र लेखनप्रति आफ्नो रुचि बढेको बताए । ‘दहाड’मा आफूले आफ्नै समुदायको इतिहासलाई भुइँतहबाट हेर्ने प्रयास गरेको उनको भनाइ थियो ।
‘सनत रचना कथा सम्मान’ वरिष्ठ कथाकार सनत रेग्मीले आफू र आफ्नी जीवनसङ्गिनी रचना रेग्मीको नाममा स्थापना गरेका हुन् । सम्मान हस्तान्तरणको व्यवस्थापन मध्यपश्चिम स्रष्टा समाजले गर्दै आएको छ । यसअघि २०७९ मा कथाकार दिला शाहको ‘अँध्यारो बस्तीकी नायिका’, २०८० मा गोपाल अश्कको ‘कालो गुलाब’ र २०८१ मा श्रेयज सुवेदीको ‘बहुरुपी’ कथासङ्ग्रहलाई उक्त सम्मान प्रदान गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यसमेत रहेका अभिलाषी कविता विधामा पनि परिचित छन् ।
रेग्मीको ८०औँ जन्मदिनमा दुई कृति विमोचन
सोही अवसरमा कथाकार सनत रेग्मीको ८०औँ जन्मदिन मनाइनुका साथै उनका दुई कृति विमोचन गरिएको थियो । रेग्मीको निबन्धसङ्ग्रह ‘टुक्रा टुक्रा जिन्दगी’ र उनको साहित्यिक व्यक्तित्वमाथि विभिन्न स्रष्टाले लेखेका लेखहरूको सङ्गालो ‘सनत रेग्मी शब्दाभिनन्दन’ विमोचन गरिएको हो । ‘टुक्रा टुक्रा जिन्दगी’बारे डा. हरि तिमिल्सेनाले तथा ‘सनत रेग्मी शब्दाभिनन्दन’बारे साहित्यकार ऋचा लुइँटेलले परिचयात्मक टिप्पणी राखेका थिए ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बीपी अस्तुको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, कथाकार नवीन अभिलाषी, उपन्यास समाजका अध्यक्ष शंकर भारती, नेपाली भाषाविद् प्रा. डा. कृष्णप्रसाद घिमिरे, भारतको महाराष्ट्रबाट आएका साहित्यकार मनिषा खटाटे र प्रदीप सारंग, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य किरण आचार्य, लेखक नरेन्द्रजंग पिटरसहित एक सयभन्दा बढी साहित्यानुरागीको सहभागिता थियो ।
