• २०८१ फागुन २ शुक्रबार

राष्ट्रकवि घिमिरेको अन्तिम काव्य ‘ऋतंभरा’ महाकाव्य अनावरण

काठमाडौं ।

राष्ट्रकवि स्वर्गीय माधव घिमिरेको महाकाव्य ‘ऋतंभरा’ लोकार्पित गरिएको छ । ऋग्वेदमा उल्लेख गरिएको आख्यानलाई आधार बनाएर लेखिएको यो महाकाव्यमा श्यावाश्व र ऋतंभराको प्रेम सम्बन्धमा आधारित रहेको छ । काठमाडौंमा सम्पन्न एक समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, राष्ट्रपति घिमिरेकी पत्नी महाकाली घिमिरे, साहित्यकार रमा शर्मा र राष्ट्रकविका कृतिमा विद्यावारिधी गर्ने डा. लेखप्रसाद निरौलालगायतले उक्त कृतिको लोकार्पण गरेका हुन् ।

नेपाल शिक्षा परिषद् तथा साझा प्रकाशनको संयुक्त आयोजनामा भएको विमोचन समारोहमा प्रमुख अतिथि उप्रेतीले उक्त पुस्तक लामो प्रतीक्षापछि आएकोमा पुस्तक प्रकाशनमा महत्वपूर्ण भूमिका निभाएका राष्ट्रकविका परिवारका सदस्यलाई धन्यवाद दिए । उनले भने, ‘यो पुस्तकको प्रतीक्षा गरेको धेरै भएको थियो । कसरी को बाट कहिले आउँछ भन्ने प्रतीक्षा हामीलाई थियो । आज त्यो प्रतीक्षाको घडी सकिएको छ । कृति पाठकमाझ आएकोमा हामी निकै खुसी भएका छौं ।’

कार्यक्रममा राष्ट्रकविकी छोरी शान्ति अधिकारीले पुस्तक तयार पार्ने क्रममा बुवासँग जोडिएका पलहरूको स्मरण गर्दै कवितावाचन गरिन् । बुवाकै प्रेरणाले संगीतमा लागेकी अधिकारीले ऋतंभराका केही श्लोकमा संगीत भरेकी छन् । राष्ट्रकवि घिमिरेको शोककाव्य गौरीकी पात्र मध्येकी शान्ति एक हुन् भने अर्की पात्र उनकी बहिनी कान्ति घिमिरे न्यौपाने पनि कार्यक्रममा उपस्थित थिइन् ।

राष्ट्रकवि घिमिरेको शकुन्तला, मालती मंगले, हिमालपारि हिमालवारि लगायतका गीतिनाटक, आफ्नो बाँसुरी आफ्नै गीत, चारु चर्चा लगायका निबन्ध र बाला लहरी, बिजुले र बिजुला लगायतका बालरचना छ । उनका इन्द्रकुमारी, किन्नर किन्नरी, गौरी, चैत वैशाख, राजेश्वरी, राष्ट्रनिर्माता र विषकन्यालगायतका कृति पनि निकै चर्चित छन् ।