• २०८१ भाद्र २५ मङ्गलबार

कुञ्ज थिएटर आरोहण गुरुकुलमा ‘सेमुना’ नाटक मञ्चन

काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटर आरोहण गुरुकुलमा शनिबारदेखि नाटक ‘सेमुना’ मञ्चन गरिएको छ । असार ११ गतेसम्म मञ्चन हुने नाटकमा पूर्वी नेपालमा फैलिएर रहेका किँरात समुदायको संस्कार, संस्कृति, जीवन पद्धतिको पृष्ठभूमिसहित साकेला र साकेन्वालाई करिब तीनदशक पुरानो प्रेमकथासँग जोडेर प्रस्तुत गरिएको छ ।

कथाकार दिलीप बान्तवाको कथामा आधारित रहेको नाटकको निर्देशन रङ्गकर्मी नीता राईले गरेकी छन् ।
बान्तवाका अनुसार सेमुना विशेष गरी माझ किँरात, भोजपुरको हतुवा, आमचोक, रामप्रसाद राई गाउँपालिका तथा खोटाङको बोपुङ् क्षेत्रतिरनै नाचिने साकेन्वा र साकेला नाचको नाम हो ।

उनले भने, ‘हरेक उभौली र उद्यौलीमा पितृ तथा प्रकृतिको पुजा गर्दै नाचिने साकेला र साकेन्वा किँरातीहरूको जीवनदर्शन हो ।’
तत्कालीन समयमा सप्तकोशी (अरुण)नदीको किनार माथी अजंगको भिर, त्यही भिरमा असंख्य मान्छेहरूले जोखिमपूर्ण यात्रा, साहुको भारीसँगै अरुण नदीमा खसाएका यात्रीहरूको जिन्दगीको कथा नै सेमुनाको सार रहेको उनले सुनाए । कथाको यही सारलाई नाटकमा रुपान्तरण गरिएको निर्देशक राईले बताइन् ।